२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

भैरवीमा कृषि मेला प्रदर्शनी 



दैलेख – ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा: संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ कृषि जैविक विविधता झल्काउने कृषि मर्ला प्रदर्शनी भएको छ। भैरवी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा भएको कृषि मेलामा स्थानीय किसानहरूले उत्पादनहरू प्रदर्शन राखिएका थिए।

कार्यक्रममा भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले स्थानीय रैथाने बालीको संरक्षण र प्रवर्द्धनले मात्रै गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले कृषिमा युवाहरूको सहभागिता बढाउन गाउँपालिकाले विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले कृषि उपजहरूको बजारीकरण र व्यावसायिकतामा जोड दिँदै यस्ता प्रदर्शनीले किसानको मनोबल उच्च बनाउने धारणा राख्नुभयो। सोसेक नेपालका महासचिव ललिता भण्डारीले कृषि जैविक विविधता जोगाउन सामाजिक संस्थाहरूको भूमिका र युवाहरूको सक्रियता महत्त्वपूर्ण हुने बताउनुभयो।

कृषि शाखा अधिकृत प्रितम थापाले मेलाको उद्देश्य र कृषि प्रविधिको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। भैरवी गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन भएको मेला सोसेक नेपालकाे हातेमालो सामुदायिक विकास संस्था र पर्यावरणीय कृषिका लागि पालिका स्तरीय युवा सञ्जाल भैरवीस‌ंगकाे सहकार्यमा भएकाे थियाे ।

​मेलामा गाउँपालिका क्षेत्रभित्रका कृषि समूह तथा सहकारी संस्था, ​स्थानीय कृषि उद्यमी ​तथा सरोकारवालाको उल्लेख्य सहभागिता थियो। मेलामा विभिन्न विधाका उत्कृष्ट कृषि उपजहरूलाई पुरस्कृत समेत गरिएको थियो । स्थानीयस्तरमा लोप हुन लागेका बीउबिजन र जैविक विविधताको संरक्षणमा यो मेलाले नयाँ उर्जा थपेको सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार