२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

शान्ति सुरक्षाका लागि सचेतना कार्यक्रम



दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी उपमेयर मनसरा शर्माले लैंगिक हिंसा रोकथाम, शैक्षिक गुणस्तर सुधार र सामाजिक सचेतनामा बढावा दिइएको बताउनुभएको छ । अपराध नियन्त्रण र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले जम्बुकाँधमा मंगलबार सचेतना कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

चालु आर्थिक वर्षमा प्रहरीमा १६ वटा मुद्दामा परेका, अघिल्लो वर्ष एसईई परीक्षामा दैलेखका ११ पालिकामा सबै भन्दा कमजोर भएको, बलात्कार जस्ता जघन्य घटनाहरु पनि बढेका भन्ने प्रश्न उठेपछि उपमेयर मनसरा शर्माले शान्ति सुरक्षा प्रभावकारी बनाउन सामाजिक चेतना र शैक्षिक गुणस्त सुधारमा नगरपालिकाले काम थालेको बताउनुभयो ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नागरिकहरुको सुरक्षा र सेवाका लागि देशमा तीन तहका सरकार भएको अवस्थामा समन्वयात्मक ढंगबाट प्रवाह गर्नुपर्ने, आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनुपर्ने, विद्यालय र समुदायमा नागरिकहरुमा देशभक्ति, सामाजिक सचेतना र सकारात्मक सन्देश अभियान चलाउन आग्रह गर्नुभयो ।

उहाँले विपदको बेला समयमा सूचना पाउदा सुरक्षा निकायले उद्धार र पुनस्र्थापना गराउन सहज हुने, शान्ति सुरक्षा र अपराध घटना सूचना समयमा पाए दोषीलाई कानूनी कारवाहीमा सहज हुने, बजार अनुगमन तथा सवारी व्यवस्थापनमा सरकारी निकायले गर्ने काममा नागरिकहरुसंग प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सहयोगको निम्ति आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक डीएसपी गणेशबहादुर बरालले शान्ति सुरक्षा प्रवद्र्धनमा आफूहरुले गरिरहेका प्रयासहरुका विषयमा प्रकाश पार्र्नुभएको थियो । विभिन्न निकायबाट दिइने सेवाको प्रभावकारिता र शान्ति सुरक्षा सवाल बारे स्थानीयले समस्या र समाधानका उपाय प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाली सेनाको कालिदत्त गुल्मका सेनानी सवलजंग शाह, राष्ट्रिय अनुसन्धानका प्रमुख सुन्दरमणी पोखरेल, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुुनार, जिल्ला प्रशासन कार्यालय दैलेखका नासु लक्ष्मी उपाध्याय, जनप्रतिनिधिहरु, पालिकाका कर्मचारी र सेवाग्राहीको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मंगलबार