ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको छ। आइतबार सुपर–६ को खेलमा नेपालले दिएको १४१ रनको सामान्य लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र जोड्यो ।
युएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो। बलिङमा दीपेन्द्रसिंह ऐरी थिए भने ब्याटिङमा युएईका ध्रुव परासर र जाहिद अली थिए। पहिलो बलमा अलीले एक रन लिए। दोस्रो बलमा परासरले रन लिन सकेनन् ।
तेस्रो बलमा परासरले दीपेन्द्रलाई छक्का प्रहार गरे। त्यसपछि युएईलाई तीन बलमा तीन रन चाहियो। तर चौथो बलमा दीपेन्द्रले परासरलाई सन्दीप जोराबाट क्याच गराए । त्यसपछि युएईलाई दुई बलमा तीन रन चाहियो ।
पाँचौ बलमा रन लिने क्रममा हैदर अली रनआउट भए । अन्तिम बलमा दुई रन लिने क्रममा जाहिद अलि पनि रन आउट भएपछि युएईले १३९ रन मात्र जोड्न सक्यो भने खेल नेपालले एक रनले जित्यो।
नेपालले अन्तिम ओभरको अन्तिम तीन बलमा विकेट लिँदा जित सम्भव भयो । युएईका लागि महत्वपूर्ण योगदान दिएका परासरले १८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३२ रनको योगदान गरे ।
त्यसअघि युएईका लागि अलिसन सराफुले ४० बलमा ३ चौका र ५ छक्काको मद्दतमा ५८ रन जोड्दा नेपालमाथि दबाब बढेको थियो ।
बलिङमा नेपालका दीपेन्द्रले ३ विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए। एक महत्वपूर्ण रनआउट सहित ३ विकेट लिएका दीपेन्द्र प्लेयर अफ दि म्याच भए । सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए ।









प्रतिक्रिया दिनुहोस्