२०८२ असोज १५ , बुधबार (2025 Oct 1, Wednesday)

लिपुलेक प्रयोग गर्ने चीन-भारतको सहमति बारे आपत्ति



काठमाण्डौं – चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गर्नुभएको छ ।

थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले सार्वभौम नेपालको भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिमा नेपालको आपत्ति जनाउनुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो ।

चीन र भारतले ३ भदौमा लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेका थिए । लिपुलेक नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट ५६ किमियताको भूमि हो । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको उक्त सहमतिलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ ।

उक्त मुद्दालाई भारत र चीन दुवैसमक्ष स्पष्ट तथा बलियो ढंगले राख्ने प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधिसभामा आफ्नो चीन भ्रमण बारे जानकारी दिंदा नेपालको हित र प्रतिष्ठाको विषय सम्बोधन हुने बताउनुभएको थियो ।

प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार