२०८२ असोज १६ , बिहीबार (2025 Oct 2, Thursday)

भीरबाट खसेर सख्त घाइते



घाइते भूपेन्द्र नेपाली

दैलेख – तीजको मेला हेरेर घर जाँदै गर्दा भैरबी गाउँपालिका-५ बहचौरका १९ वर्षीय भूपेन्द्र नेपाली मंगलबार दिउँसाे भैरबी गाउँपालिका-६ घुम्ती डाँडाभीरबाट खसेर सख्त घाइते भएका छन् । भीरबाट करिब डेढ सय मीटर तल कालोपारामा खसेको अवस्थामा साथीहरुले उद्धार गरेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक देबीराम भण्डारीले जानकारी दिनुभयो ।

घटना बारे सूचना पाए लगतै पानीपोखरी प्रहरी चौकीका प्रहरी हवल्दार दीपक थापाको कमाण्डमा पुगेको टोलीले घाइतेको उद्धारमा सघाउनुसंगै घाइतेलाई उपचारका लागि दैलेख अस्पताल पठाउन समन्वय गरेको थियो । दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको भूपेन्द्रका बुबा रतन नेपालीले बताउनुभयो ।

अत्यधिक मदिरा सेवन गरी पैंदल हिंडिरहेको बेला भूपेन्द्र भीरबाट खसेका थिए । भीरमा गुल्टिदै जाँदा जिउभरी जसो वाहिरी छाला धसारिनुसंगै अनुहार, हत्केला र टाउकोमा बढी चोट देखिएको छ । प्राथमिक चोटपछि खतरामुक्त अवस्था देखिए पनि टाउकोको सीटी स्क्यान गराउनकै लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको दैलेख अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार