२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)
एमालेकाे जिल्ला कमिटी बैठक

विधान महाधिवेशनका लागि सुझावमा केन्द्रित



दैलेख – नेकपा एमाले दैलेखकाे जिल्ला कमिटीको शनिबार बसेको सातौं पूर्ण बैठक भदौ २०–२२ सम्म ललितपुरमा हुने दोस्रो विधान महाधिवेशनका लागि सुझाव सङ्कलनमा केन्द्रित भयो । बैठकमा सहभागी सदस्यहरूले कार्यकर्तामा आधारित नीति आवश्यक रहेको बिचार व्यक्त गरेका थिए ।

बैठकमा २८ जना जिल्ला कमिटीका सदस्यहरूले विभिन्न सुझाव राख्नुभएको र सुझावका आधारमा जिल्ला कमिटीको बैठकबाट निर्णय गरी केन्द्रीय कमिटीमा पठाइएको एमाले दैलेखका प्रचार विभाग प्रमुख दीपेन्द्र ओलीले बताउनुभयो ।

सबै तहका कमिटीहरु सानो संख्यामा गतिमान बनाउने, कार्यकर्ताको क्रियाशीलता र क्षेत्रगत विशेषताका आधारमा सबैलाई जिम्मेवारी दिने जस्ता सुझावहरु आएको बताइएको छ । पार्टी संगठनभित्र वादप्रतिवाद, आलाेचना, आत्मालाेचना गर्ने र आधिकारिक धारणा नेता कार्यकर्ताहरुले प्रचारप्रसार गर्ने पद्धति बसालिनुपर्ने विषय जाेडदार रुपमा उठेकाे थियाे ।

७० वर्षे उमेर हद हटाउने र पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नहुने केन्द्रीय कमिटीको निर्णयका बारेमा पक्ष र विपक्षमा पनि त्यहाँ तर्क भएको जानकारीमा आएको छ ।

बैठकमा पार्टी केन्द्र र प्रदेशले जारी गरेका अन्तर पार्टी निर्देशन (अपानि) माथि व्यापक छलफल गरिएको थियो । एमाले दैलेखले २०८१ चैत मसान्तसम्म जिल्लामा नयाँ पुराना गरी १० हजार २ सय ५१ सङ्गठित सदस्यको सदस्यता अध्यावधिक भएको जानकारी दिइएको छ ।

पार्टीका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा पोलिटव्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्यद्वय राजबहादुर बुढा, मीनासिंह रखाल, नेकपा एमाले कर्णाली प्रदेश कमिटीका उपसचिव रबिन्द्रराज शर्मा लगायतका नेताहरुले समसामयिक राजनीतिक परिस्थिति र एमाले भूमिका विषयमा धारणा राख्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार