२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

बहुविवाहको मस्यौदा रोक्न ज्ञापनपत्र



दैलेख – नेपाल महिला संघ दैलेखले पुरुषले बहुविवाह गर्न पाउने गरी कानून संशोधन गर्न लागेको विषयमा यस्तो संशोधनको प्रयास नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार दैलेखका प्रमुख जिल्ला अधिधकारी बद्रीनाथ गैह्रे मार्फत सरकारलाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र पठाइएको हो ।

सत्तारुढ नेपाली काँग्रेस पार्टीको भ्रातृसंगठन नेपाल महिला संघको जिल्ला कार्यसमिति दैलेखका जिल्ला सभापति दुर्गा श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई पठाएको ज्ञापनपनमा बहुविवाहलाई प्रश्रय दिनु पश्चगामी कदम हुने धारणा राखिएको छ ।

बहुविवाहबाट जन्मेका बालबालिकाको जन्म भए वा गर्भवती भएमा दोश्रो पत्नीले वैवाहिक मान्यता पाउने गरी कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले गर्न लागेको मुलुकी अपराध सहिता २०७४ संशोधनको मस्यौदा कार्य रोक्न आग्रह गर्दै नरोके नेपाल महिला संघले आन्दोलन गर्ने चेतावती दिएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गैह्रेले प्रचलित कानूनले बहुविवाह गर्न नपाइने, दोश्रो पत्नीको विवाह दर्ता नहुने कानूनी व्यवस्था भएको अवस्थामा संशोसनको प्रयासलाई रोक्न नेपाल महिला संघको आग्रह उचित कदम भएको उल्लेख गर्दै यसमा सरकारले ध्यान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार