२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

नागरिकताको सिफारिस अनलाइन गराइँदै



दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखले नागरिकताको लागि वडा कार्यालयले गर्ने सिफारिस अनलाइनबाटै गर्न सकिने व्यवस्था गर्न लागेको जानकारी दिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराउनुभएको हो ।

वडा कार्यालयले ‘केन्द्रीकृत नागरिक सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस)’ मार्फत सिफारिस गर्न सकिने व्यवस्था मिलाउन दैलेखका ११ पालिकाका ९० वटै वडा सचिवहरुलाई तालिम दिई अनलाइनबाटै काम गर्न सक्ने गरी प्राविधिक सीप दिने कार्ययोजना रहेको उहाँले सुनाउनुभयो ।

दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा काम गर्न थालेको तीन महिना पुगेको अवसरमा आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी छाउ गोठ भत्काउने अभियान, सरकारी सम्पतिकाे अभिलेखीकरण गर्ने, जनउत्तरदायी काम गरेका उत्कृष्ट कार्यालय प्रमुखलाई पुरस्कृत गर्ने लगायतका नयाँ कार्ययोजना प्रमुख जिल्ला अधिकारी गैह्रेले सुनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी आए यता सिफारिस र आवश्यक कागजजात भएको अवस्थामा छुट्टै निवेदन दिन नपर्ने, राहदानी फाराममा कार्यालयमै भर्ने व्यवस्थादेखि प्रशासन कार्यालयमै हुलाक काउण्टर जस्ता सेवाग्राही मैत्री सेवा सुरु गरेको विषयमा उहाँको प्रशंसा भएको छ ।

सुशासन प्रवद्र्धन, बजार अनुगमन, सरकारी कर्मचारीलाई सेवामा उत्तरदायी बनाउने, विकास काममा सहजीकरण, विपद व्यवस्थापन तथा पूर्वतयारी, प्रशासन कार्यालयको आन्तरिक व्यवस्थापन लगायतका सुधारले गृह मन्त्रालयको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय दैलेखको स्तरबृद्धि हुदै आएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा दैलेखस्थित नेपाली सेनाको कालिदत्त गुल्मका सेनानी सवलजङ्ग राणा, दैलेख प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बराल, सशस्त्र प्रहरीका डीएसपी मीनराज भट्ट, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुन्दरमणी पोखरेल,  नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष बिष्णुप्रसाद शर्मा, जिल्ला अध्यक्ष अमर सुनार लगायत पत्रकारहरुको उपस्थिति थियो ।

त्यसबखत सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसी र प्रशासकीय अधिकृत ऋषिराम उपाध्यायले प्रशासन कार्यालयले सुशासन प्रवद्र्धनमा गरेको प्रयास, जिल्लामा मिडिया, राजनीतिक दल, नागरिक समाज र आमसर्वसाधारणबाट जिल्ला प्रशासन कार्यालयले पृष्ठपोषण र सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार