२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

मर्यादा भंग गर्ने त्रिचालिस युट्युब च्यानललाई कारबाही गरिंदै



काठमाडौँ – तथ्यहीन, भ्रामक र सामाजिक मर्यादा भंग हुने सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया थालेको छ । अनुसन्धान गरी आवश्यक कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई काउन्सिलले पत्राचार गरेको जनाएको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई दर्ता समेत नगरी गलत सामग्री प्रसारण गरेको भन्दै कारवाहीको प्रक्रिया थालिकाको हो ।

हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, अफवाह फैलाउने, अतिरञ्जित सामग्री राख्ने त्यस्ता सामाजिक सञ्जाल नियन्त्रण गर्ने बारे २०८० चैत २० गते काउन्सिलले युट्युब व्यवस्थापन, सूचीकरण र अभिलेखिकरणसम्बन्धी कार्यविधि बनाई नियमित अनुगमन थालेको छ । कार्यविधि पालना नगर्नेहरुलाई नियन्त्रण गर्न काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जाल सहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय गरेको हो ।

पत्रकार आचारसंहिता पालना नगरेका ३ वटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको र त्यस्ता सञ्चारमाध्यम राज्य तहबाट पाइने कुनै पनि सुविधा पाउनबाट वञ्चित गरिने जनाइएको छ । कालोसूचीमा पर्ने सञ्चारमाध्यममा एबीपीक्राइमन्यूज डट कम, टिभी अन्नपूर्ण डटकम र सेतोखरी डटकम रहेका काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आम सञ्चार माध्यममा आएका दुई सय ६९ सामग्री काउन्सिलले स्वअनुगमन गरी कारबाही गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमबार