२०८१ पुस २७ , शनिबार (2025 Jan 11, Saturday)

शिक्षाप्रति उपेक्षा, कुलतको प्रभाव र युवाहरूकाे भविष्य



आजको युवा पुस्ता कत्तिको जिम्मेवार छन् ? उनीहरूको जीवनशैली हाम्रो समाज र राष्ट्रको भविष्यलाई कस्तो आकार दिन सक्छ ? यो प्रबृतिले भविष्यलाई सकारात्मक रूपमा प्रभावित गर्नसक्छ ? हाम्रो शिक्षा प्रणाली, सामाजिक संरचना वा सरकारी रबैया र अहिलेको जीवनशैलीले युवाहरुको भविष्य र राष्ट्रको भविष्यलाई कस्तो प्रभाव पारिरहेको छ ? यसबारे बृहत छलफल गरिनु आवश्यक छ । शिक्षा आर्जनमा जुटेका युवाहरूको व्यवहार, कक्षामा सहभागिता, मानसिकता र संस्कारलेसामाजिक उत्तरदायित्व, सहिष्णुता, सम्मान र सहयोगको भावना हुनुपर्दछ । धेरैजसो युवा परिपक्वता र जिम्मेवारीबोधबाट टाढा छन् । उनीहरूको स्वभावमा अधैर्य, आत्मकेन्द्रित दृष्टिकोण र बाह्य प्रभावहरूको बढी प्रभाव देखिन्छ ।

यस्तो व्यवहारले केवल व्यक्तिगत स्तरमा नभएर, समाजको समग्र मानसिकतामा पनि असर पुर्याउँछ । यो सोच्नका लागि उत्तेजनात्मक क्षण हो, जसले हामीलाई हाम्रो शिक्षा र संस्कारको गहिरो विश्लेषण गर्न बाध्य बनाउँछ, । शिक्षाले केवल किताबहरूको ज्ञान मात्र दिदैन । जीवनको सुधार र जिम्मेवार नागरिक बन्न मार्गदर्शन गराउछ । शिक्षालय नयाँ कुरा सिक्ने र अनुभव सँगाल्ने स्थान हो, सिर्जनशीलता र ज्ञानको प्रकाश फैलाउने थलो हो । भविष्यका खम्बा युवाहरूको मानसिक र शारीरिक सक्षमतामा प्रश्न उब्जाउँछ । सिर्जनशीलता र जिम्मेवारीबाट टाढा पु¥याइरहेको छ । देशको आधार र परिवर्तनको संवाहक मानिने युवाहरु कुलत र समयको दुरुपयोगमा फस्छन् भने हाम्रो भविष्यको तस्वीर कस्तो होला ? युवा पुस्ताको जीवनशैली देशको भविष्य निर्धारण गर्दछ । देशलाई प्रगतिमा लैजाने कि अधोगतितिर धकेल्ने हरेक युवाले सोच्न जरुरी छ ।

देशभरका अधिकांश विश्वविद्यालय सिर्जनशीलताको थलो बन्नुपर्ने यी स्थानहरू कुलत र गैरजिम्मेवार गतिविधिका केन्द्र बन्दै गएका छन् । शिक्षा प्रणाली मात्र नभएर समाजको भूमिकामा पनि यहाँ प्रश्न उठ्छ । शैक्षिक संस्था र समाजले शिक्षाको उद्देश्यलाई बिर्सेर सामाजिक र नैतिक विकृतिलाई बढावा दिइरहेको देखिन्छ । शिक्षा प्रणालीले विद्यार्थीहरूलाई भविष्यको स्पष्ट र सुनिश्चित दिशा दिन नसक्नु हो । यो शैलीले अध्ययन र मेहनतको परिणामस्वरूप स्थिरता र अवसरको अनुभूति गर्न सक्दैनन् । कतिपय अवस्थामा उनीहरू कुलतमा फस्ने वा असामाजिक गतिविधिमा संलग्न हुने जोखिममा पर्छन् । बेरोजगारीको समस्यासँग जुधिरहेका युवाहरूले आफ्नो निराशालाई मेट्न लागुऔषधको दुरुपयोग, हिंसात्मक गतिविधि वा गैरकानुनी कामतर्फ आकर्षित हुने सम्भावना बढ्छ । कुलतमा फसेका युवाहरूको उत्पादकत्व र श्रमशक्ति कमजोर हुन्छ, यसले राष्ट्रको आर्थिक प्रगति गुमाउँछ र स्वास्थ्य उपचारमा ठूलो खर्च ब्यहोर्नुपर्छ । देश नवप्रवर्तन, नेतृत्व, र प्रतिस्पर्धात्मक क्षमताबाट वञ्चित हुन्छ । नशालु पदार्थमा निर्भर युवाले राष्ट्रिय सुरक्षामा समेत चुनौती खडा गर्न सक्छन्, किनभने उनीहरू सामाजिक विकृति र अशान्तिका संवाहक बन्छन् ।

यो समस्या समाधानका लागि शिक्षा प्रणालीलाई केवल किताबी ज्ञानमा सीमित नगरी, व्यावसायिक तालिम, जीवन–कौशल, र मानसिक स्वास्थ्य समर्थनलाई समावेश गर्न आवश्यक छ । शिक्षाले विद्यार्थीहरूको जीवनमा स्पष्टता र उद्देश्य प्रदान गर्नुपर्छ, जसले उनीहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्न सकोस्। नेपालको शिक्षा क्षेत्रमा बजेट घटाउँदै लैजानु वा आवश्यकता छ । शिक्षा क्षेत्रलाई दीर्घकालीन रणनीति र पर्याप्त स्रोतसाधन उपलब्ध गराउन सरकार असफल छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार, कुनै पनि देशले कुल बजेटको कम्तीमा पनि २०% शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ । तर नेपालमा यो औसत १०–१२% भन्दा माथि कहिल्यै पुग्न सकेको छैन । यसले विद्यार्थीहरूको गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार र शिक्षकहरूको तालिममा प्रत्यक्ष असर पार्छ ।

शिक्षा क्षेत्रमा बजेट कटौती गर्दा शैक्षिक संस्थाहरू पर्याप्त स्रोतसाधन र आधुनिक प्रविधिबाट बञ्चित हुने, ग्रामीण क्षेत्रमा विद्यार्थीहरूलाइ आधारभूत शिक्षा प्राप्त गर्न कठिनाई हुनुका साथै रोजगारको सुनिश्चितता र जीवन–कौशल सिकाइको अभावले युवाहरूलाई कुलत र असामाजिक गतिविधिमा धकेल्छ । सरकारको यस्तो बेवास्ताले शिक्षा क्षेत्रलाई मात्र नभई देशकै भविश्यलाई खतरामा पारिरहेको छ । व्यावहारिक शिक्षा, जीवन कौशल, र मूल्य शिक्षाको अभावले युवा पुस्तालाई दिशाहीन बनाएको छ । फुर्सदको दुरुपयोग र कुलतहरूमा सजिलै पहुँचले युवाहरूलाई गलत बाटोमा लैजाने अवस्था सिर्जना भएको छ । चुरोट, गुट्खा र रक्सी जस्ता कुलतहरू सामान्य जस्तै मान्ने प्रवृत्तिले समस्या झन् जटिल बनाएको छ । जब जब भविष्यका संभावित नायकहरू रमाइलो र कुलतमा अलमलिन्छन्, उनीहरूले आफ्नो मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यलाई धूमिल बनाउँछ । युवाहरुलाई कुलत र दुव्र्यसनीबाट मुक्त गराउन जीवन दर्शन मनोवैज्ञानिक, जिम्मेवारी बोध शिक्षा र देशप्रेमको भावना अभिमुखीकरण अभियान नै चलाउन आवश्यक छ ।

युवाहरू राष्ट्रको मेरुदण्ड हुन् र उनीहरूको जोश, जाँगर र सामथ्र्यले देशलाई समृद्धि तर्फ अघि बढाउन सक्छ । आजको चुनौतीपूर्ण परिस्थितिमा केही युवा गलत बाटोमा अल्झिरहेका देखिए पनि यो स्थितिलाई सुधार्न सम्भव छ । युवाहरुलाई सही मार्गदर्शन, शिक्षा र प्रेरणाको माध्यमबाट उनीहरू आफ्नो जिम्मेवारी बोध गर्न सक्षम हुनेछन् । राज्यका निकाय र समुदायले समेत समयमै प्रभावकारी कदम चालुन् र युवाहरूलाई संघर्षको मार्गमा उभ्याएर उनीहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउन जरुरी छ । समाज, परिवार र राष्ट्रको समन्वयले युवाहरूलाई सकारात्मक उद्देश्यतर्फ अघि बढाउन अवश्य प्रेरित गर्नेछ । हरेक युवाले आफ्नो शक्तिलाई चिन्न सकून् र त्यसलाई राष्ट्रनिर्माणको दिशामा उपयोग गरून् भन्ने अपेक्षा छ । यसका लागि गुणस्तरीय शिक्षा, नैतिकता ज्ञान र योग्यता अनुसारको भूमिका दिइयो भने उनीहरूको जीवनलाई बदल्नेछ सबैको सामूहिक प्रयासले सुन्दर, शान्त, शिक्षित र समृद्ध राष्ट्रको परिकल्पना साकार हुनेछ ।

प्रकाशित मिति : २०८१ पुस १९ गते शुक्रबार