२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

महासंघको पहिलो निर्णय ‘डेकेन्द्र स्मृति भवन’ बनाउने



दैलेख – नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय अधिवेशनको क्रममा दैलेख शाखामा नव निर्वाचित जिल्ला शाखाले स्वर्गीय पत्रकार डेकेन्द्र स्मृति भवन निर्माणको पहल गर्ने निर्णय गरेको छ । नवनिर्वाचित जिल्ला अध्यक्ष अमर सुनारको अध्यक्षतामा शनिबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

महासंघको शाखा खुलेको २३ वर्ष भइसक्दासम्म धेरै समय भाडामा र अहिले जिल्ला समन्वय समितिको भवनमा कार्यालयबाट चलाउनु परेको भन्दै नेपाल सरकारका निकायहरुसंग भवन बनाउन सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको महासंघका जिल्ला सचिव भीमबहादुर सिजापतिले जानकारी दिनुभयो ।

बैठक अघि नवनिर्वाचित अध्यक्ष अमर सुनार र कमल शर्मा, उपाध्यक्षद्वय बिनु भारती, महेन्द्र सापकाेटा, सचिव भीम सिजापति, सचिवद्वय पृथ बयलकाेटी र जीवन अाचार्य, काेषाध्यक्ष कुमार प्याकुरेल, सदस्यहरू पानसरा सिंह, डम्बर बिक, हिमेन्द्र बिक, खगेन्द्र खड्का, धर्मरत्न थापा, रामकृष्ण कठायत, प्रदेश परिषद सदस्यहरू कृष्ण शर्मा, भरत अधिकारी, बिष्णु शाही, यामराज शर्मा र केन्द्रीय परिषद सदस्य गाेविन्ददेव भारतीलाई निर्वाचन अधिकृत नमनकुमार शाहीले सपथ गराउनुभएकाे थियाे ।

शुक्रबार भएको नेपाल पत्रकार महासंघको निर्वाचनबाट प्रेस चौतारी तथा प्रेस यूनियनको प्यानलबाट अध्यक्ष पदका उम्मेदवार कमल शर्मा र प्रेस सेण्टर तथा समाजवादी पत्रकार संगठनको संयुक्त प्यानल समूहका उम्मेदवार अमर सुनारले जिल्ला अध्यक्ष पदमा ३०–३० मत पाउनुभएको थियो ।

बराबर मत आएको कारण महासंघको तीन वर्षे कार्यकाल आधा–आधा अर्थात डेढ–डेढ वर्ष जिल्ला अध्यक्ष चलाउने सहमतिमा पहिलो कार्यकाल कसले चलाउने भन्ने बारे गोलाप्रथा गर्दा अमर सुनारलाई परेकोले शनिबार सपथ लिएको मितिदेखि २०८३ जेठ २८ चलाउने र बाँकी अवधि कमल शर्माले काम गर्ने सहमति भएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) र कान्तिपुर दैनिक लगायतका सञ्चार माध्यमका लागि तीस वर्षदेखि दैलेखबाट सक्रिय पत्रकारिता गर्दै आउनुभएका सुनार उज्यालो रेडियो नेटवर्क र इन्सेकका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँ महामंघमा दोश्रो कार्यकाल हो, यसअघि २०५८ देखि २०६१ सम्म दैलेख शाखाको अध्यक्ष हुनुुहुन्थ्यो ।

प्रकाशित मिति : २०८१ मंसिर २९ गते शनिबार