नेपालगञ्ज – लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले मिडियाले सकारात्मक सन्देश दिने प्रयत्न गर्न आग्रह गर्नुभयाे । राष्ट्रिय दलित पत्रकार संघको दाेश्राे लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले साे विचार राख्नुभएको हाे ।
मन्त्री अग्रवालले मिडियाले सम्प्रेषण गर्ने समाचार र प्रस्तूती शैलीको आधारमा समाजले धारणा बनाउने भएकोले सरकारले गरेका राम्रो कामकाे सन्देश प्रवाह गर्न सके आशा जगाउने विश्वास व्यक्त गर्नु भयाे । बेथिति र अराजकता पनि वाहिर ल्याउनुपर्छ तर राम्रो कामकाे प्रचार गर्न उहाँले आग्रह गर्नुभयाे ।
राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य संविधानसभा सदस्य विनाेद पहाडीले विभिन्न राजनीतिक आन्दोलन र जनयुद्धको बलिदानीबाट प्राप्त लाेकतन्त्र र समावेशीकरण माथि खतरा पैदा भएको बताउनुभयो ।
लाेकतन्त्र र समावेशीकरणकाे रक्षा गर्न दलित पत्रकारहरुलाई कलम चलाउन उहाँले आग्रह गर्नुभयाे । कैलालीमा सूचनाको हक माग्न जाँदा सुरेश भुलकाे नियाेजित तरिकाले हत्या भएको पहाडीले आराेप लगाउनुभयाे ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य सुशिला बादी नेपालीले दलित समुदायकाे जीवन स्तर उठाउन राज्यलाई झक्झक्याउन दलित पत्रकारहरुले अगुवाइ आग्रह गर्नुभयाे । दलितको आर्थिक र सामाजिक जीवनस्तर उठाउन सबैले पहल गर्नुपर्ने नेपालीले बताउनुभयाे
कार्यक्रममा खजुरा गाउँपालिकाका पूर्व उपाध्यक्ष एकमाया बिश्वकर्माले दलित समुदायले भाेगिरहेकाे विभेद र असमानता विरुद्ध मिडियाले खेलेकाे भूमिका निम्ति धन्यवाद दिंदै दलित समुदायका पत्रकारहरुले दलित माथि भइरहेको असमानता विरुद्ध सशक्त रुपमा उत्रिन आग्रह गर्नुभयो ।
संघका लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालकाे अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार राधा नेपाली, बिनाेद परियार र रुपा गहतराजलाई जनही पाँच हजार नगद सहित उर्जाशील पत्रकारिता पुरस्कारले सुशाेभन गरिएको थियाे । अधिवेशनले लुम्बिनी प्रदेश समिति चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्