२०८३ भदौ १९ , शुक्रबार (2026 Sep 4, Friday)

अदालतमा आधा मुद्दा सम्बन्ध विच्छेद !



साँकेतिक स्केच

दैलेख – दैलेख जिल्ला अदालतमा दर्ता भएका मुद्दा मध्ये झण्डै आधा जति सम्बन्ध विच्छेदका छन् । जिल्ला अदालतमा चालु आर्थिक २०८३/०८४ को डेढ महिनामा अदालतमा दर्ता भएका कुल ५६ नयाँ मुद्दा मध्ये ३० वटा सम्बन्ध विच्छदका मुद्दा छन् ।

दैलेख जिल्ला अदालतमा उघिल्लो आर्थिक वर्ष २०८२/०८३ को अवधिमा चलेका कुल ५५४ वटा मुद्दा मध्ये २७१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

मुद्दाको संख्याको विश्लेषण गर्दा यो आर्थिक सुरु भएपछि आएका मध्ये ५३.५७ प्रतिशत छ, भने अघिल्लो आर्थिकमा ४८.९२ प्रतिशत हुन आउँछ । त्यो भन्दा अघिल्लो वर्ष अर्थात आर्थिक वष २०८१/०८२ को अवधिमा चाहिँ ४२ प्रतिशत रहेकाे उहाँले बताउनुभयाे ।

अदालतमा सम्बन्ध विच्छेदकै मुद्दा ज्यादै धेरै छन् भन्ने कुराको ज्वलन्त उदाहरण दैलेख जिल्ला अदालतले भदौ १७ गतेका प्रकाशित गरेको बयान गराउने तथा फैसलाको चरणमा पुगेका दैनिक पेशी सूचीमा रहेका ५ वटै मुद्दा सम्बन्ध विच्छेदका रहेको सूची पनि प्रष्ट्याएको छ ।

वैवाहिक सम्बन्धमा संवादको कमी, हिंसा, अविश्वास र भावनात्मक असुरक्षाले सम्बन्ध विच्छेदको अवस्था निम्त्याएकाे सोसेक नेपालको महिला तथा बालबालिका सेवा केन्द्रकी कार्यक्रम संयोजक रमा श्रेष्ठले बताउनुभयो । सामाजिक सञ्जालमा बढ्दो अनियन्त्रित सम्पर्क र गोपनीयताको बेवास्ताले पारिवारिक तनाव थप बढाइरहेको उहाँको भनाइ छ ।

पुरुषकाे कमाईमा पारिवारिक निर्भरता, वैदेशिक रोजगारी, पारिवारिक हस्तक्षेप र बदलिँदो सामाजिक मूल्यले वैवाहिक सम्बन्धमा चुनौती थपेको भैरबी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीकाे धारणा छ । सामाजिक सञ्जालको प्रयोगमा संयमता तथा परिवारभित्र जिम्मेवारी, परिवारमा खुला संवाद, अनुशासन र पारस्परिक सम्मान कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल बार एशोसिएशन दैलेखका जिल्ला अध्यक्ष प्रेमबहादुर थापाले सम्बन्ध विच्छेद बढ्नुमा पारिवारिक असमझदारी, आर्थिक तनाव र अपेक्षाबीचको दूरी प्रमुख कारण रहेको बताउनुभयो । सामाजिक सञ्जालको असावधानीपूर्ण प्रयोगले विश्वास कमजोर बनाएकाेले विश्वास र संयमित डिजिटल व्यवहार आवश्यक रहेको उहाँको धारणा छ ।

उमेर नपुगी विवाह गर्ने, पढाई छुटेकाे कारण राेजगारीकाे अवसरबा बञ्चित भएका, बेराेजगारीले आर्थिक कठिनाई, पारिवारिक कलहका कारण दाेश्राे विवाह गर्ने मनोविज्ञानले धेरैले सम्बन्ध विच्छेद गर्ने गरेकाे भैरब मावि डंसुरकी शिक्षिका कमला भण्डारीले बताउनुभयो । सम्बन्ध विच्छेद कम गर्न बालविवाह राेकथामका प्रभावकारी अभियान थाल्नुपर्ने उहाँकाे सुझाव छ ।

अदालतमा वर्षेनी सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा पारिवारिक असमझदारी, संवादको कमी, आर्थिक तनाव, वैदेशिक रोजगारी, घरेलु हिंसा, अविश्वास र बदलिँदो जीवनशैली प्रमुख कारण देखिन्छन् । सम्बन्ध विच्छेद व्यक्तिगत निर्णय मात्र नभई बदलिँदो स्वछन्दताकाे चाहना, खण्डित पारिवारिक बसाईले निम्त्याएकाे परिणाम पनि हाे ।

सम्बन्ध विच्छेदको असर पति–पत्नीमा मात्र नभई बालबालिका, परिवार र आर्थिक अवस्थासम्म पर्न सक्छ । घरेलु हिंसा वा गम्भीर अस्वस्थ सम्बन्धमा भने पीडितको सुरक्षा र कानुनी उपचार, आवश्यकताअनुसार मनोसामाजिक परामर्श  दिई परिवारमा आपसी विश्वास र सहअस्थित्वकाे भावना विकासमा जाेड दिन अत्यन्तै जरुरी भइसकेकाे छ ।

प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार