२०८३ साउन २१ , बिहीबार (2026 Aug 7, Friday)
भूमि समस्या समाधान सवाल 

स्थानीय तहलाई सक्रिय बनाउन जरुरी 



दैलेख – जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने काममा स्थानीय तहलाई सक्रिय बनाउन  सरकारका निकाय र राजनीतिक दलहरुले सहयाे‍ग गर्न आग्रह गर्नुभएकाे छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार आयोजना गरेकाे भूमि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले साे आग्रह गर्नुभएकाे हाे ।  वडाले सम्पादन कार्यमा सम्बन्धित स्थानीय तहले गरेकाे सिफारिसका  आधारमा प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा रहेकाे भूमि समस्या समाधान जिल्ला समितिले आयाेगमा सहजीकरण प्रक्रिया बारे छलफल भएकाे थियाे ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द सारुले भूमिसम्बन्धी काममा स्थानीय तहको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । स्थानीय सरकारले आफ्नो जिम्मेवारी समयमै पूरा नगर्दा समिति काम अघि बढाउन नसकेको उल्लेख गर्दै उहाँले सबै स्थानीय तहलाई सक्रिय भएर सहकार्य गर्न आग्रह गर्नुभयो ।

जिल्लामा ३ हजार ७ सय ५७ निवेदन परेका मध्ये ५८ निवेदन मापदण्ड नपुगेकाले अस्वीकृत भएका, २४८ भूमिहीन दलित, ८६ भूमिहीन सुकुम्वासी र ३ हजार ३ सय ६५ अव्यवस्थित बसोवासीको विवरण प्रविष्ट भएका नापी कार्यालयका प्रमुख सर्वेक्षक केशवप्रसाद चाैलागाईले जानकारी दिनुभयाे ।

कार्यक्रममा रास्वपा सचिव रमेश केसी, काँग्रेस सभापति मणिराम रेग्मी, नेकपा जिल्ला स‌ंयाेजक मायाराम अधिकारी, राप्रपा उपाध्यक्ष रणबहादुर सिंह, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमल शर्मा, पूर्व अध्यक्ष अमर सुनार लगायतले भूमि समस्या समाधान विषयमा सुझाव राख्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार