२०८३ साउन ८ , शुक्रबार (2026 Jul 25, Saturday)
सर्पदंशबाट छोरा जोगाउन घाउ चुस्दा

आमा-छोराको मृत्यु !



दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ दहगाउँकी २७ वर्षीया कमला रावलले सर्पदंशबाट घाइते आफ्ना छोरालाई बचाउने धेयले सर्पले टाेकेका घाउमा मुखले चुसेर बीष फाल्ने प्रयास गर्दा दुवै आमा–छोराकाे ज्यान गएको छ ।

मंगलबार राति ९ वर्षीय छोरा आयुसले ‘केहीले टोके जस्तो भयो’ भन्दै अतालिएपछि आमा कमलाले बालकको घाँटीमा देखिएको घाउ सर्पले टोकेको हुनसक्ने आशंकामा मुखले रगत चुसेर निकाल्ने प्रयास गर्नुभएको थियो । त्यसलगत्तै आमा र छोरा दुवै बेहोस हुनुभएकाे थियाे ।

परिवार र छिमेकीको सहयोगमा उनीहरूलाई उपचारका लागि करिब ७ किलोमिटर टाढाको साँङ्गेतडा लैजाँदै गर्दा बालक आयुसको बाटोमै मृत्यु भएको थियो । गम्भीर अवस्थामा रहेकी कमलालाई साँङ्गेतडास्थित मेडिकल र दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पठाइएको थियो ।

उपचारका लागि स्थानीय मेडिकलमा लैजाँदै गर्दा आयुसकाे बाटोमै मृत्यु भएको र बचाउन ठूलाे प्रयास गर्दा समेत उपचारकै क्रममा बुधबार विहान कमलालाई पनि मृत्यु भएको कमलाकी नन्द निर्मला रावल जानकारी दिनुभयाे ।

बालकलाई सर्पले टोकेको पुष्टि भएको र स्थानीयस्तरमा सर्पले टोकेको घाउबाट अर्को व्यक्तिले रगत चुसे विष फैलिन नदिने भन्ने अन्धविश्वासका कारण समयमै उचित उपचार हुन नसक्दा यो दुःखद घटना भएको स्थानीय शाेभाखर न्याैपानेले बताउनुभयाे ।

कमलाले १२ वर्षअघि हाल ३० वर्षीय बखत रावलसँग प्रेम विवाह गर्नुभएको थियो । आयुसको मृत्यु र त्यसको अर्काे दिनमै आमाको समेत निधन भएपछि परिवारमा २ वटा छाेरीहरु ११ वर्षीया योजना, २ वर्षीया आयुसा र जीवित एउटा मात्र छाेरा ४ वर्षीय आकाश आमाको माया र स्नेहबाट बञ्चित भएका छन् ।

सर्पदंशको अवस्थामा घाउ चिरेर वा मुखले चुसेर विष निकाल्ने अन्धविश्वासी काम नगर्न र तुरुन्त स्वास्थ्य संस्थामा पुर्‍याउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । कर्णाली नदीकाे तीर नजिक पर्ने दैलेखकाे चामुण्डाबिन्द्रासैनी, आठबीस नगरपालिका र गुराँस गाउँपालिका क्षेत्रमा अति बिसालु सर्प पाइने गरेका छन् ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार