दैलेख – सडक दुर्घटना न्यूनीकरणका लागि चालकहरूले मदिरा र लागु पदार्थ सेवन गरी लापरवाहीपूर्वक सवारी चलाउने गरेकाे व्यापक जनगुनासाेपछि ट्राफिक प्रहरीले चालकहरूकाे मापसे तथा लापसे चेकजाँचमा कडाइ गरेकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले बिहीबार दैलेखकाे चुप्रामा मापसे तथा लापसे चेकजाँच अभियानकाे थालेकाे छ ।
अभियानको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले बढ्दो सडक दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही, तीव्र गति, ट्राफिक नियमको उल्लङ्घन तथा मादक पदार्थ सेवन रहेको उल्लेख गरे । उनीहरूले चालकलाई जिम्मेवार र अनुशासित बनाउन नियमित मापसे परीक्षणसँगै लापसे निगरानीलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जाेड दिएका छन् ।
कार्यक्रममा डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले सडक दुर्घटना न्यूनीकरण गर्न पहिलाे सर्त सडककाे अवस्था, यातायात साधनकाे यान्त्रिक अवस्था समेत ठीक हुनुपर्ने बताउनुभयाे । उहाँले चालककाे लापरवाही नियन्त्रण गर्न मापसे तथा लापसे चेकजाँच अभियानले दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने बिश्रास व्यक्त गर्नुभयाे ।
त्यसबखत दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूकाे सुरक्षा यातायात व्यवसायीहरूकाे उत्तरदायित्व रहने बताउनुभयाे । उहाँले चालकहरू स्वयम् उत्तरदायी बन्न आग्रह गर्नुभयाे । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमल शर्माले ट्राफिक नियम कडाइका साथ पालना गराउनपर्ने आवश्यकता औंल्याउनुभयो ।
दैलेखका प्रहरी इञ्चार्ज डीएसपी श्रवणकुमार बिश्वकर्माले ट्राफिक नियमको पूर्ण पालना, सुरक्षित गति, सवारीको नियमित प्राविधिक परीक्षण तथा चालकको व्यवहार सुधार आवश्यक रहेको बताउनुभयाे । अभियानले दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकजाँच अभियान थालिएकाे र सबैले सहयाेग गर्न आग्रह गर्नुभयाे ।
पछिल्ला दिनमा भएका गम्भीर सवारी दुर्घटनाले सडककाे अवस्था सुधार र चालकको लापरवाही नियन्त्रण सचेतना अभियानलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने सुझाव अनुसार मापसे तथा लापसे चेकजाँच अभियान थालिएकाे ट्राफिक कार्यालय दैलेखका इञ्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक जयसिंह गुरूले जानकारी दिनुभयाे ।
मापसे तथा लापसे चेकजाँच अभियान थालिएकाे कार्यक्रम स्थल चुप्रामा सहभागी सर्वसाधारणले नियमित मापसे परीक्षण, लापसे नियन्त्रण र कानुनको कडाइका साथ कार्यान्वयन गर्न सके सडक दुर्घटना न्यूनीकरण हुने सुझाव दिएका थिए । सुर्खेत-दैलेखमा यात्रारत सार्वजनिक यातायातका साधनका चालकहरूकाे मापसे तथा लापसे चेकजाँच गरिएकाे थियाे ।










प्रतिक्रिया दिनुहोस्