दैलेख – नौमूले गाउँपालिकाले ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले शनिबार गाउँपालिकाभित्रका ८ वटै वडाका ६५ वर्षमाथिका ११२ जना ज्येष्ठ नागरिकलाई दैलेखका प्रसिद्ध पञ्चकोशी तीर्थस्थलको भ्रमण गराएको छ ।
गाउँपालिकाको आर्थिक तथा व्यवस्थापकीय सहयोगमा सञ्चालन गरिएको तीर्थयात्रा कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले दैलेखको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका श्रीस्थान, नाभिस्थान, पादुका र धुलेश्वर क्षेत्रको दर्शन तथा पूजाआजा गरेका थिए । तीर्थस्थलहरूको अवलोकनसँगै उनीहरूले धार्मिक आस्था व्यक्त गर्नुका साथै ती क्षेत्रको महत्वबारे जानकारी समेत लिएका थिए ।
गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको अनुभव, योगदान र सामाजिक भूमिकाको सम्मानस्वरूप आयोजना गरेको उक्त कार्यक्रमले उनीहरूमा उत्साह थपेको सहभागीहरूले बताएका छन् । बुढेसकालमा धार्मिक स्थलको दर्शन गर्ने चाहना पूरा भएको भन्दै अधिकांश ज्येष्ठ नागरिकले गाउँपालिकाप्रति आभार व्यक्त गरेका थिए। लामो समयपछि एकै स्थानमा भेला भएर धार्मिक यात्रामा सहभागी हुन पाउँदा आफूहरू खुसी भएको उनीहरूको भनाइ थियो ।
तीर्थयात्राका क्रममा टोलीले दैलेखको जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण स्थलको समेत अवलोकन गरेको थियो । त्यहाँ भइरहेको अन्वेषण कार्य, प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थको सम्भावनाबारे जानकारी लिँदै ज्येष्ठ नागरिकहरूले जिल्लाको विकासका लागि उक्त परियोजना महत्वपूर्ण बन्न सक्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष छबिराम सुबेदीले ज्येष्ठ नागरिकहरू समाजका मार्गदर्शक र अनुभवका भण्डार भएकाले उनीहरूको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । ज्येष्ठ नागरिकको आत्मसम्मान वृद्धि, मानसिक सन्तुष्टि तथा धार्मिक आस्थाको कदर गर्ने उद्देश्यले तीर्थयात्रा कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उहाँको भनाइ थियो ।
गाउँपालिका उपाध्यक्ष गंगबहादुर शाहीले ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्नु सभ्य समाजको पहिचान भएको बताउनुभयो । गाउँपालिकाले ज्येष्ठ नागरिक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले तीर्थयात्राले उनीहरूमा नयाँ ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा नं. ४ का वडाध्यक्ष चन्द्रलाल बस्नेतले ज्येष्ठ नागरिकहरूको अनुुभव र ज्ञान वर्तमान पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो। उहाँले स्थानीय सरकारले उनीहरूको सम्मान र संरक्षणका लागि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
त्यसैगरी वडा नं. ८ का वडाध्यक्ष दिपक हमालले धार्मिक तथा सांस्कृतिक सम्पदासँग ज्येष्ठ नागरिकलाई प्रत्यक्ष जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। यस्ता गतिविधिले सामाजिक सद्भाव, आपसी आत्मीयता र धार्मिक चेतना विस्तारमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रमा थापाले ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्य, सामाजिक सहभागिता र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले तीर्थयात्रा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई खुसी र उत्साहित बनाएको भन्दै उहाँले आगामी दिनमा पनि उनीहरू लक्षित कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।











प्रतिक्रिया दिनुहोस्