२०८३ वैशाख १२ , शनिबार (2026 Apr 25, Saturday)

बिना अवरोध सुकुम्वासी बस्ती खाली



काठमाण्डौ‌ं – सरकारले बिना अवरोध काठमाण्डौंको थापाथली नजिक बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा आज डोजर चलाइएको छ । अनुमान गरिएको भन्दा सहजै सरकारले सम्झाईबुझाई गरी टहरा भत्काएको हो ।

बाक्लो संख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाएर अनधिकृत संरचना हटाइएको हो । त्यहाँ बसोबास गर्दै आएका धेरैजसोले हिजो बेलुका नै बस्ती छाडेका थिए । बाँकी सबै जसोले सरसामान निकालेका थिए ।

बिहान बस्तीमा डोजर चल्दा कुनै अवरोध भएन । कतिपय अहिले पनि सडक छेउमा यत्रतत्र समान राखेर अलपत्र अवस्थामा छन् । बाँस र जस्तापाताबाट बनाइएका घर टहरा भत्काइएको छ । बास नभएका केहीलाई अब कहाँ जाने अन्यौल छ ।

अनधिकृत बस्ती हटाउने क्रममा पहिचान भएका ‘वास्तविक’ सुकुम्वासीलाई पहिचान गरी तत्कालका लागि ५ वटा विभिन्न ठाउँमा पुनस्र्थापना गर्ने सरकारको तयारी छ । थापाथलीपछि गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराइने योजना छ ।

सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प अघि सारेको छ । सुकुम्वासी बस्तीबाट हटाइएकालाई पहिला रङ्गशाला लगिने र बास्तविक भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने जनाएको छ ।

अधिकारकर्मीहरुले अनधिकृत संरचना हटाउने कार्यमा मानवीय संवेदनालाई विशेष ध्यान दिन सुझाव दिएका छन् । सरकारले वास्तविक सुकुम्वासीहरुलाई अहिले अस्थायी वास र निकट भविष्यमा आवास व्यवस्था गर्न सरकारले अनधिकृत संरचना हटाउन थालेको हो ।

प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार