२०८२ चैत २८ , शनिबार (2026 Apr 11, Saturday)
घाइतेहरुकाे सुर्खेतमा उपचार हुँदै

चक्कू प्रहारका मुख्य आरोपी फरार



गम्भीर घाइते अर्जुन राेकाय र इन्सर्टमा अर्का घाइते लेलिन थापा ।

दैलेख – ठाँटीकाँध गाउँपालिका–६ पाँचलाको अंगलडाँडामा भएको ग्याँङफाइटमा दुई जना किशोरहरु माथि चक्कू प्रहार भएको छ । सोही ठाउँको छडथानका १९ वर्षीय बिराट भण्डारीले शनिबार दिउँसो गरेको चक्कू प्रहारबाट छिमेकी गाउँका १६ वर्षको अर्जुन रोकाय र १७ वर्षीय लेलिन थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

गए राति गाउँमा एक विवाह कार्यक्रममा भएको विवादको विषयलाई लिएर भएको ग्याँङफाइटमा ती दुई जना किशोरहरु घाइते भएका हुन् । अर्जुनको दाहिने कोखामा चक्कूले गहिरो चोट लागेको र लेलिनको छातिमा चक्कूले घाउ भएकोमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको लकान्द्र प्राथमिक उपचार केन्द्रका डा. मनोजकुमार शाहले बताउनुभयो ।

घाइतेहरुलाई एम्बुलेन्स मार्फत शनिबार साँझ कर्णाली प्रदेश अस्पतालमा पुर्‍याई सकिएको छ । दुबै जनालाई घातक हतियारले गहिरो चोट लागेको र अर्जुनको अझ गम्भीर चोट भएकोले बिस्तृत परीक्षणपछि मात्र उनीहरुको अवस्था बारे भन्न सकिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ‘चोट गम्भीर छ तर सुर्खेतमै उपचार सम्भव छ’ कर्णाली प्रदेश अस्पताल डा. धीरज चन्दले भन्नुभयो ।

चक्कू प्रहारका मुख्य आरोपी बिराट भण्डारी

उता ग्याँङफाइटमा संलग्न मध्ये एक जना आरोपित ठाँटीकाँध गाउँपालिका–६ का २२ वर्षीय गजेन्द्र शाहीलाई ठाँटीकाँध प्रहरी चौकीबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । चक्कू प्रहार गर्ने मुख्य आरोपी १९ वर्षीय बिराट भण्डारी फरार भएको तर खोजी कार्य जारी रहेको प्रहरीकाे भनाई छ । फोटो सहितको हुलिया आफ्ना सबै इकाईहरुमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार