दैलेख – दैलेख जिल्लाभर करिब ६५ हजार गाईभैंसी रहेको पशु अस्पताल तथा पुश सेवा कार्यालय दैलेखको अनुमान छ । ती सबै पशुबस्तुलाई खोरेत रोग विरुद्धको खोप लगाउन कार्यालयले अभियान थालेको छ । दैलेखका ११ वटै पालिकामा पशु स्वास्थ्य प्राविधिक विषय पढेका भेटरीनरी जेटीए वा ३५ दिनको आधारभूत तालिम लिएका ३५ जना पशु स्वास्थ्य खोप कार्यकर्ता परिचालन गरी जिल्लाभर अभियान चलाइएको हो ।
पशु स्वास्थ्य खोप कार्यकर्ताले आफ्नो गाउँपालिका र नगरपालिका क्षेत्रका गाई, गोरु, भैंसी र बुंगुर समेतलाई १–१ डोज खोरेत विरुद्धको खोप लगाइदिने र कुनकुन पशुलाई त्यो खोप लगाइदिएको हो ? भन्ने पहिचान खुल्ने खोप कार्ड समेत दिने गर्दछन् । अर्को वर्ष यिनै खोप कार्डका आधारमा खोप लगाउन सजिलाको लागि खाेप कार्ड लागू गरिएको पशु अस्पताल तथा पुश सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख पशु विकास अधिकृत प्रचण्ड खड्काले बताउनुभयो ।
पालिकामा पशुबस्तुको संख्याका आधारमा कम्तीमा २ र कुनैमा ३–५ समेत गरी ३५ जना पशु स्वास्थ्य खोप कार्यकर्ताहरु परिचालन गरिएको छ । ती पशु स्वास्थ्य खोप कार्यकर्ताहरुले खोरेत विरुद्धको खोप लगाइदिए वापत प्रति पशुको ३० रुपैंयाँ पारिश्रमिक दिइएको छ । पशुबस्तुलाई खोप लगाएको संख्यात्मक हिसावले पारिश्रमिक पाउने भएकोले पशु स्वास्थ्य खोप कार्यकर्ताहरुले मेहनत गरेको भैरबी गाउँपालिकाका पशु पंछी शाखाका पशु स्वास्थ्य प्राविधिक गणेश बिश्वकर्माको ठम्याई छ ।
कर्णाली प्रदेश सरकारको कार्यक्रम अनुसार पशु अस्पताल तथा पुश सेवा कार्यालय दैलेखले खोरेत विरुद्धको खोप अभियान चलाउने जानकारी गराए अनुसार भैरबी गाउँपालिकाले पालिकाको वेभसाइडमा सार्वजनिक सूचना प्रकाशन गरी पशु स्वास्थ्य प्राविधिक विषय पढेका भेटरीनरी जेटीए वा ३५ दिनको आधारभूत तालिम लिएकाहरुलाई पशुबस्तुलाई खोप लगाउने अभियान जानकारी गराए अनुसार निवेदन दिएका ५ जनालाई नै खोरेत विरुद्धको खोप अभियानमा परिचालन गरेको छ ।
पालिकाले सूचना गरे अनुसार अभियानमा जोडिएका पशु स्वास्थ्य खोप कार्यकर्तालाई पालिकाले सवारी साधन उपलब्ध गराउनुसंगै पशुपालक कृषकहरुसंग सम्पर्क तथा समन्वय समेत गराइदिने गरेको छ । पालिकाले गरिदिएको समन्वयले आफूहरुलाई सहज भएको भैरबी गाउँपालिका–७ की स्थानीय बासिन्दा पशु स्वास्थ्य खोप कार्यकता टिका तिवारीले सुनाउनुभयो । ‘खोरेत विरुद्धको खोप अभियानमा जोडिएर देशको सेवा गर्न पाएकोमा गौरब लागेको छ’ उहाँले भन्नुभयाे ।
जिल्लाकै भैंसीको घिउ अधिक उत्पादन गर्ने भगवतीमाई गाउँपालिकामा पनि ५ जना पशु स्वास्थ्य खोप कार्यकर्तालाई परिचालन गरी पालिकाभरका ६ हजार पशुबस्तुलाई खोरेत विरुद्धको खोप दिने काम अन्तिम चरण पुगेको भगवतीमाई गाउँपालिकाका पशु पंछी शाखाका पशु स्वास्थ्य प्राविधिक बिनोद परियारले जानकारी दिनुभयो । सुरुमा ३ हजार १ सय ५० आएको थियो, पछि ३ हजार थप भ्याक्सिन मागेर अभियानलाई प्रभावकारी बनाइएको उहाँले बताउनुभयो ।
अभियानको प्रभावकारिता आकस्मिक अनुगमनमा गुराँस र डुंगेश्वर गाउँपालिकामा पुगेको बेला त्यहाँ परिचालित पशु स्वास्थ्य खोप कार्यकर्ताले भ्याक्सिनको तापक्रम ४ देखि ८ डिग्री सेल्सियस कायम राख्ने कोल्चेन मेण्टेन बक्स र सिरिञ्ज लगायतका औषधि तथा उपकरण समेतको कालो झोला बोकेर रुचीपूर्वक काम गरिरहेको पाएको पशु अस्पताल तथा पुश सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख पशु विकास अधिकृत प्रचण्ड खड्काले सुनाउनुभयो ।
फागुन २८ देखि चैत १८ गतेसम्म चल्ने खोरेत विरुद्धको खोप अभियानमा चल्ने छ । यो खोप खुर फाटेका हरेक पशुलाई वर्षमा एक पटक अनिवार्य लगाउनुपर्छ । नेपाल सरकारले सन् २०३० सम्म सबै पशुवस्तुलाई अनिवार्य रुपमा निशुल्क खोप लगाउने लक्ष्य लिएको छ । खोरेत विरुद्धको खोपको अलवा दैलेख जिल्लाभर पालिएका २ लाख १२ हजार बाख्रालाई भ्यागुते, चरचरे, पीपीआर खोप लगाउने कार्यक्रम पनि निरन्तर चलिरहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्