२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

मल बोकियो, पानी कहिले पर्ला ?



दैलेख – भौगोलिक हिसावले कर्णाली प्रदेशका १० जिल्ला मध्ये सबै भन्दा सानो सल्यान र दोश्रो सानो जिल्ला हो दैलेख । जनसंख्या र मानव विकास सूचांकको हिसावले सुर्खेतपछि दोश्रो हो यो जिल्ला । उत्पाकत्वका हिसावले पनि राम्रै खेती हुने भएकोले आत्मनिर्भर जिल्ला हो ।

मुश्किलले चार हजार चार सय १६ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिंचाई सुविधा पुग्छ, यो प्रतिशतका हिसावले १२ प्रतिशत मात्र हो । बाँकी जमिन आकाशे पानीको भरोसामा खेती हुन्छ । देशभरकै तेश्रो ठूलो कर्णाली नदी दैलेख भएरै बग्छ । लोहोरे, छामघाट र अरु साना खोलानाला गरी पानीका श्रोतहरु थुप्रै छन् ।

पानीका थुप्रै श्रोतहरु हुँदा पनि सिंचाई योजना नगण्य मात्रामा छन् दैलेखमा । भूबनौटले सहज, श्रोतहरुको सम्भावना भएर पनि राजनीतिक पहुँचको अभावमा दैलेख भौतिक विकासमा पछि परेको छ । केन्द्रीय राजीतिक नेतृत्वमा दैलेखको अनुपस्थितिले सिंचाई सुविधामा गोता खाएको छ ।

दैलेखको क्षेत्र १५ सय ४ वर्ग किलोमीटर अर्थात एक लाख ५० हजार ५१ हेक्टर हो । त्यस मध्ये ४३ हजार एक सय २१ हेक्टर खेतीयोग्य जमिन मध्ये ३४ हजार चार सय ९७ हेक्टरमा खेती भइरहेको छ । खानेपानी, सिंचाई तथा ऊर्जा विकास कार्यालय दैलेखले राखेको तथ्यांक अनुसार जम्मा चार हजार चार सय १६ हेक्टरमा बाह्रै महिना सिंचाई हुन्छ ।

सिंचाई आयोजनाहरु सकिंदै गर्दा यति क्षेत्रफलमा सिंचाई पुगेको भनी लेखिएका तथ्थ्यांक थपिंदै गर्दा चार हजार चार सय १६ हेक्टरमा बाह्रै महिना सिंचाई पुगेको होला भनी अनुमान गरिएको हो । आयोजना मर्मत सुधार नहुँदा जीर्ण भएका, नयाँ बनेका लिफ्टिङ्ग प्रणाली प्रविधिमा अवरोध र बनेको कैयौं पोखरीमा पानी पचेको अवस्थालाई लेखाजोखा गरियो भने १० प्रतिशत मात्र चलेका उपभोक्ताहरुको भनाई छ ।

सबै कुराको विश्लेषण गरेर निष्कर्षमा पुग्ने हो भने मुश्किले पाँच सय हेक्टरमा मात्र बाह्रै महिना सिंचाई सुविधा पुगेको आकलन छ । यसरी केलाउँदा आकाशे पानीकै भरोसामा दैलेखका किसानहरुले खेती गर्छन् अढाई लाख जनसंख्यालाई झण्डै खाद्यन्नमा आत्मनिर्भर बनाएका छन् ।

कृषि विकास कार्यालय, विभिन्न गैससहरुले उन्नत खेतीका नयाँ प्रविधि सिकाएका छन् । जलवायु परिवर्तनको असरसंग पनि जुधेर आकाशे पानीको सहारामा अन्न बाली, तरकारी खेती र अरु थुप्रै नगदे बाली पनि गरिरहेका छन् । यी सबै प्रयासहरुलाई दैलेखको उब्जाउ भूमिले गज्जवको गुन लगाएको छ ।

मकै खेती मौसम
गएको हिउँद भरी आकाशे पानी परेन फागुन १७ गतेदेखि लगातार ५ दिन परेको पानीले गहुँबालीलाई अलिअलि तरन दियो । चैतको २७ गतेदेखि लगातार ५ दिन असिना पानीले भित्र्याउन तयार भएको गहुँ बालीलाई क्षति ग¥यो । करिब ३० प्रतिशत भन्दा बढी पाकेको गहुँ बाली त्यो बेलाको असिना–पानीले झारेको कृषि विकास कार्यालयको अनुमान छ ।

चैतको अन्तिमतिर परेको त्यो बेलाको असिनापानीले भित्र्याउन तयार भएको गहुँ बाली क्षति पु¥यायो, मकै बाली लगाउने यो समयमा पानी परेर किसानहरुलाई आकुलव्यकुल बनाएको छ । बेलाबेला तरखर गर्छ पानी परिहाल्छ कि भनेर किसानहरु मकै लगाउने चटारोले बारी भरी मल बोकेर तयार छन् ।

‘कुबेला परेको असिनापानीले भित्र्याउन लागेको गहुँ झा¥यो अहिले पानी नपरेरै मकै लगाउन ढिला भयो’ डुंगेश्वर गाउँपालिका–६ थर्पुकी अगुवा किसान देउरुपा अर्यालले भन्नुभयो । ‘बेलाबेला बादल देखिन्छ पानी पर्ला कि भन्ने आशले किसानहरुले मल बोकेर तयार छन् वैशाख गइसक्दासम्म पानी परेकै छैन, यो वर्ष मकै खेती बिग्रेला भन्ने चिन्ता छ’ उहाँले भन्नुभयो ।

केही थोरै बेसी फाँट छोडेर मध्यपहाडी भूभाग ओगटेको दैलेखका सबैजसो बारीमा डोकाले घोप्ट्याएका मलका ताँती जताततै देखिएका छन् । ‘हामीले पनि पानी परी त हाल्ला भनेर मल बोकेर तयार पा¥यौं, मकै लाउने पानी नै नपर्ने भो’ दैलेखको ठाँटीकाँध गाउँपालिका–२ लकान्द्रकी ललिता बिष्टले बताउनुभयो ।

मलको मेसो
मकै लगाउन अघि बारीमा मल बोकेर थुप्राथुप्रा राख्ने पुरानै चलन हो । कृषि विज्ञहरुको अध्ययन मान्ने हो भने यसरी सजाएर राख्दा मलमा भएको पोषण तत्व ह्रास भएर जान्छ । मलखादबाट निकालेको १२ घण्टा भित्र बारी जोत्ने र खेती लगायो भने मलबाट पाउन पर्ने पोसिलो तत्व पाइन्छ ।

१२ घण्टा भन्दा बढी खुला ठाउँमा राख्दा मलमा पाइने फष्फोरस, पोटास, नाइट्रोजन, फलाम, लवण लगायतका १६ थरिका पोषण तत्वहरु ह्रास हुँदै जान्छ । यसरी खुला ठाउँमा घाम, भलपानी तथा बलेनीबाट बग्ने भएकोले बाली लगाउने बेला नै बारीमा मल पु¥याउनुपर्ने कृषि प्राविधिकहरुको सल्लाह छ ।

मललाई खुला नराख्न कृषि प्राविधिकहरुले पहिल्यैदेखि भन्दै आएका हुन् तर किसानहरुले समयको बचत र मकै लगाउने बेला नै मल बोक्ने जनशक्ति नपाइने भएकोले डोकोमा बोकेर बारीका गडागडामा फैलाएर राख्ने पुरानै पराम्परा हो । ‘मल बोक्ने मान्छेको धौधौ प्रवन्ध गरिएको हुन्छ तर मकै लगाउने बेला त मान्छे नै पाइदैन’ नौमूले गाउँपालिका–२ बालुकाटारकी आइती दमाईले वाध्यता सुनाउनुभयो ।

‘मल बोक्ने जनशक्ति नपाउनेहरुले बारीको कान्लामा एक ठाउँ थुपारेर माथिबाट पात, सोत्तर वा प्लाष्टिकले ढाक्ने अनि मकै लगाउने बेला मल फिँजाएर जोत्दै मकै लगाए मलमा पोषण तत्व जोगाउन सकिन्छ’ कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख वागवानी विकास अधिकृत (सातौं) दशरथ पाण्डेको सुझाव छ ।

मुख्य बाली मकै
दैलेखमा १९ हजार दुई ५० हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ । यहाँ प्रति हेक्टर औषत दुई दशमलव ३५ मेट्रिक टनका दरले झण्डै ४५ हजार तीन सय ४३ मेट्रिक टन अर्थात करिबकरिब साढे चार लाख क्वीण्टल मकै उत्पादन हुन्छ । मनकामना, अन्नपूर्ण दानाका लागि खेती गरिन्छ भने भुटेर खाजा खाने मुरली मकै स्थानीय जातको रैथाने बाली प्रचलित छ । जिल्लामा वर्षे बालीमा मकै मुख्य बाली हो ।

उत्पादित मकै सुर्खेत, नेपालगञ्ज, बुटवल, काठमाण्डौं का होटलहरुमा अग्यानिक खाना लागि व्यापारीहरुले लैजाने गर्छन् । सुगरका विरामीहरुले खाने खानाका प्रकारहरु पनि प्रयोगमा आउन थालेकोले सहर र ग्रामीण क्षेत्रमा मकैको माग बढिरहेको नारायण नगरपालिका–३ का अगुवा कृषक श्रीबहादुर बोगटीले बताउनुभयो ।

दैलेखमा आठ हजार तीन सय १५ हेक्टरमा धान खेती हुन्छ भने त्यसबाट उत्पादन २५ हजार मेट्रिक टन, हिउँदमा गहुँ खेती १३ हजार दुई ८५ हेक्टरमा जम्मा १५ हजार मेट्रिक टन र दुई हजार पाँच सय ४५ हेक्टरमा झण्डै तीन हजार मेट्रिक टन उत्पादन हुने गरेको कृषि विकास कार्यालय दैलेखका अर्थ विज्ञ झलक भण्डारीले जानकारी दिनुभयो ।

https://www.youtube.com/watch?v=DFCNZa_CJJo

प्रकाशित मिति : २०८२ जेठ ३ गते शनिबार