२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

एक तिहाई महिला हिंसा भोग्न बाध्य



हरेक तीन जना महिला मध्ये एक जनाले लैंगिक हिंसा भोग्न परिरहेको अधिकारकर्मीहरुले बताएका छन् । सीबीएम ग्लाेवलसंगकाे साझेदारीमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले सञ्चालन गरेकाे कर्णाली मानसिक स्वास्थ्य कार्यक्रमले अायाेजना गरेकाे ‘जिल्ला समन्वय समितिसंग मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य सवालको अन्तरक्रिया कार्यक्रम’मा यो कुरा उठेको हो ।

सीएमसी नेपालका स्वास्थ्य सुपरीवेक्षक शेरबहादुर थापाले बिश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसार हरेक तीन जना महिला मध्ये एक जनाले लैगिक हिंसा भोगिरहेका, १५ देखि ४९ वर्ष अर्थात प्रजनन् उमेरका महिलाहरु बढी महिलाहरू याैनजन्य हिंसाबाट पीडित हुने गरेका उहाँले बताउनुभयो ।

उहाँले सरकारले गरेको तथ्यांकलाई उल्लेख गर्दै श्रीमान् श्रीमतीलाई कुटपिट गर्नुलाई समाजमा सामान्य घटनाको रुपमा लिएकोले हिंसा बढ्न थालेको बताउनुभयो । श्रीमानले श्रीमती पिट्नु स्वभाविक ठान्नेहरुको संख्या २५ प्रतिशत रहेको, झण्डै २८ प्रतिशतले मात्र कानूनी उपचार खोज्ने गरेको तथ्य स्वास्थ्य सुपरीवेक्षक थापाले सुनाउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सीएमसी नेपालका मनोबिद दिपक शर्माले लैंगिक हिंसा रोकथामको मुख्य उद्देश्यले जिल्ला अस्पतालहरुमा सञ्चालन गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले दिने सेवाको प्रचारप्रसार र सेवालाई अझैं सुलभ गरिनुपर्ने औंल्याउनुभयो ।

निशुल्क बहुपक्षीय उपचार प्रणालीको रुपमा विकास गरी मानसिक स्वास्थ्य पहिचान, उपचार प्रभावकारी बनाउन स्थानीय सरकारको अग्रसरता लिनुपर्ने शर्माले बताउनुभयो । नेपालमा हरेक ८ जना मध्ये एक जनामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या पाइएकोले मनोपरामर्श सेवा सबै स्वास्थ्य संस्थामा उपलब्ध गराउन जरुरी रहेको मनोबिद शर्माले चर्चा गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, सीएमसी नेपालका कर्णाली प्रदेश  कार्यालय प्रमुख लक्ष्मण नाथ, परियोजना अनुगमन तथा मूल्यांकन संयोजक सुमेश भट्टराई, मनोसामाजिक परामर्शकर्ता गगन वली लगायतले लैंगिक हिंसा र त्यसले निम्त्याउने मनोसामाजिक स्वास्थ्य समस्या विषयमा प्रष्ट्याउनुभएको थियो ।

प्रकाशित मिति : २०८१ पुस २ गते मंगलबार