दैलेख – कविराम बिक अहिले ७३ वर्षको हुनुभयो, जन्म चाहिँ २००८ मंसिर ३ गते । उहाँ ४ वर्षको छँदा २०१२ सालमा औलो लागेर बुबा जङ्गे कडारोको देहावसान भयो । उहाँलाई बुबाको अनुहार याद छैन । २० वर्षको छँदा २०२८ भदौतिर मुग्लान जानुभयो, ५३ वर्षपछि घर फर्किएर मंगलबार नागरिकता लिनुभयो ।
उहाँका दुई दाजुहरु जेठो डिलबहादुर २००३ र माइलो चङ्खे २००५ सालतिर जन्मिनुभएको थियो । ती भाईलाई बिधवा आमा धर्मी कडारोले जेनतेन निमेख गरेर तीन छोराहरु पाल्नुभएको थियो । २०२८ सालको भोकमरीका कारण फरकफरक समयमा कबिरामका दाजुभाईले घर छोड्नुभएको थियो ।
२०२७ सालको चैतमा परेको असिना पानीले गहुँ बाली नोक्सानी पारेको र २०२८ को असार साउन महिनामा ठूलो बाढी–पहिरोले वर्षे खेती समेत सबै सखाप पारेपछि भोकमरीले सबैजसो गाउँ खाली भएका थिए, यही क्रममा कबिरामका तीन भाई पनि पेट पाल्न मुग्लान जानुभएको थियो ।
त्यसबेला पेट पाल्नकै लागि भनी मुग्लान पसेका तीनै भाई उतै लापत्ता हुनुभयो, यता आमा पनि २०२९ सालतिर देहावसान भएको खबर एक कान मैदान हुँदै मुग्लानमा पनि पुग्यो । बुबा पहिल्यै बितेका र अब आमा पनि नरहेपछि कबिरामका तीनै भाईहरु को कहाँ छ ? भन्ने पत्तै नपाई यसै समय बित्यो ।
त्यसबेला दैलेखको अवलपराजुल गाउँपञ्चायत घर भएका कविराम घरबाट हिँड्दा साथमै गएको छिमेकी गाउँको अर्को एक साथीसंग लागेर दैलेखको गाईबान्ना, रानीमत्ता, सुर्खेतको गडगडे, कालिदमार, बाँकेको हात्तीसार, चियापानी हुँदै नेपालगञ्जदेखि रुपैडियाको नानपारासम्म पैदल जाँदा भेरी र बबई नदीमा नाउ तरेर पार गर्नुभएको थियो ।
छिटोछिटो हिँड्दा पनि ७ दिनको पैदल यात्रा र नानपारादेखि २ दिनको रेल यात्रापछि देहरादून पुगेर २०२८ सालदेखि करिब १० वर्ष त्यतैतिर मजदूरी गर्नुभयो । त्यसपछि गढवालका अरु ठाउँहरुमा नै ५३ वर्ष बिताउनुभयो । घर फर्किने, विवाह गर्ने केही सोच नै भएन । कमाएको खाईखेली सकियो ।
जीवनको उतरार्धमा आफ्ना बचेखुचेका आफन्त भेट्ने र जन्मेकै माटोमा मर्न पाइयोस् भनेर ७३ वर्षको उमेरमा तीन साता अघि मात्र पुख्र्यौली घर खोज्दै अहिलेको डुङ्गेश्वर गाउँपालिका–४ अवलपराजुल पुग्नुभयो । उहाँ पुगेपछि उहाँका आफन्तको पहलमा वडा कार्यालयले नागरिकताको सिफारिस ग¥यो अनि जिल्ला प्रशासन कार्यालयले आज मंगलबार मात्र कविराम बिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दियो ।
‘एकाघरका कोही हुनुहुदो रैनछ, प्रहरी प्रतिवेदन र अरु श्रोतहरुबाट जाँच्दा अवलपराजुलकै व्यक्ति हुनुहुन्छ भन्ने पुष्टि भएकोले सहजै उहाँलाई नेपाली नागरिकता दियौं’ जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले भन्नुभयो । ‘उहाँलाई नागरिकता दिंदा खुशी लाग्यो’ कोइरालाले भन्नुभयो ।
गाउँमा आउँदा कसैले चिन्दैनन् कि ? बास पाइन्न कि ? भन्ने चिन्ता थियो । बुढापाकाहरुले मेरा कुरा सुनेपछि माया गरे, बास दिए, नागरिकता बनाउनपर्छ, सामाजिक सुरक्षा भत्ता पाइन्छ भने नागरिकता पनि बन्यो भत्ता पनि पाइएला । कविरामले हर्षित हुँदै भन्नुभयो ‘आफ्नो जस्तो अर्को हुँदैन भनेको साँच्चै रहेछ ।’
कविरामका आफ्ना बाजे साइँला नैनसिंह कडारो हुुनुहुन्थ्यो, काइँला बाजे कमारो कडारोका नाति अर्थात कविरामका भाई नाता पर्ने कर्णबहादुर सुनारले सुरुदेखि संरक्षण दिनुभएको छ । कर्णबहादुरले भन्नुभयो ‘उहाँको नजिकको भनेकै म हो, बास र संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।’ उहाँले थप्नुभयो ‘कुनै कमी गर्दैनौं ।’
एकाघरका कोही नभएको कारण नागरिकता दिलाउन वडाको सिफारिसदेखि सनाखत बस्न समेत डुङ्गेश्वर गाउँपालिका–४ का वडाध्यक्ष नगेन्द्रबहादुर बुढाले ठूलो सहयोग गर्नुभयो । ‘यस्तै असहाय र कमजोरहरुका लागि हामीले काम गर्ने हो, सामाजिक सुरक्षा भत्ता पनि तुरुन्तै दिलाउँछौं’ वडाध्यक्ष बुढाले भन्नुभयो ।
नेपाल नागरिकता ऐन २०६३ को दफा ३ अनुसार उहाँले वंशजको आधारमा नेपाली नागरिकता पाउनुभएको हो । उक्त दफामा बाबु–आमा नेपाली रहेको भन्ने पुष्टि भएमा वंशजको आधारमा नागरिकता दिइने कानूनी व्यवस्था छ । प्रहरी प्रतिवेदन र प्रशासनले अरु तवरबाट गरेको जाँचबुझ गरेर नागरिकता दिएकाे हाे ।












प्रतिक्रिया दिनुहोस्