२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

कणालीको रैथाने जातको ‘गुणे’ धान खेती बढ्दो



दैलेख – स्थानीय किसानहरुले रैथाने जातका धान खेती बढाउन थालेका छन् । कर्णाली प्रदेश सरकारले रैथाने बालीमा प्रवद्र्धनका कार्यक्रम सुरु भएपछि दैलेख जिल्लाका अधिकांश खेतमा किसानले पुरानो रैथाने जातका धान डेरादुने, झ्याले, भुरसाले, गुणे र कालाेगुणे खेती बढाउन थालेको हुन् ।

पछिल्लो समय किसानले यी सबै पुराना जातका धान मध्ये पनि गुणे धानमा अझ बढी चासो देखाएका छन् । नारायण नगरपालिका–७ बिजौराका किसान तुलाराम नेपालीले रैथाने धान पोसिलो, लगाउने विधि र हावापानी सुहाउदो भएको कारण भनभनेमा ९ रोपनी खेत मध्ये ५ रोपनीमा ‘गुणे’ लगाएको बताउनुभयो ।

‘उन्नत जातको धान पनि लगाएकै छौं तर पछिल्लो समय रैथाने जातका धान त्यसमा पनि गुणे धानको प्रचार बढी भएपछि आफूहरुले टौवा खेतमा ९ रोपनीमा ‘गुणे’ धान लगाएको हो, यो वर्ष फलेको पनि राम्रो छ’ नारायण नगरपालिका–११ बिन्ध्यवासिनीकी शर्मिला थापा मगरले सुनाउनुभयो ।

सिँचाइ राम्रो पुग्ने फाँटहरुमा धेरै उत्पादन हुने, गोड्न पनि त्यति दुख नहुने, उत्पादिन धानको मूल्य पनि बढी पाइने भएकोले आफू जस्तै अरु किसानहरुले पनि ‘गुणे’ धान रोपेको भैरबी गाउँपालिका–४ डाँडीमाडीका राजकुमारी आचार्यले भन्नुभयो । धेरै जति स्थानीय होटलहरुले किनेको उहाँले बताउनुभयो ।

दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायतका सेराखेतमा रैथाने ‘गुणे’ र ‘कालो गुणे’ लगाउने क्षेत्र हुन् । जिल्लाको कुल खेतीयोग्य जमिन ४१ हजार १३१ हेक्टर मध्ये झण्डै आठ हजार हेक्टर जमिनमा धानखेती गर्ने गरिएकोमा एक हजार हेक्टरमा ‘गुणे’ खेती हुने गरेको कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भूजले जानकारी दिनुभयो ।

नेपाल सरकारले देशभरकै उत्पादनको आकलन अनुसार उन्नत जातको धान प्रति हेक्टर ३० देखि ४० क्वीण्टल उत्पादन हुन्छ, स्थानीय जातमा प्रति हेक्टर औसत २० देखि ३० क्वीण्टल उत्पादन हुने गर्दछ । ‘गुणे’ धान राम्रो सिचाईं हुने खेतमा लगाइने भएकोले प्रति हेक्टर ३० क्वीण्टल फल्ने प्राविधिकको भनाई छ ।

प्रति हेक्टर ३० क्वीण्टल मात्र उत्पादन हुँदा पनि कृषि विकास कार्यालयले जनाए अनुसार एक हजार हेक्टरमा गुणे धान लगाइएको भए दैलेखमा वर्षेनी कम्तीमा ३० हजार क्वीण्टल अर्थात ३० टन ‘गुणे’ धान उत्पादन हुने गर्दछ ।

‘गुणे’ धान खेती हुने मुख्य क्षेत्र नौमूलेमा पछिल्लो समय कर्णाली प्रदेश सरकारले बीऊ र मलमा ७५ प्रतिशत अनुदान दिएको कारण किसानहरु आकर्षित भएका नौमूले गाउँपालिकाका कृषि प्राविधिक प्रमुख दिनेश न्यौपानेको भनाई छ । यो वर्ष कात्तिक १७ गतेको भारी वर्षाले आंशिक क्षति पुगेको बताउनुभयो ।

रैथाले बालीमा रोक किराको आक्रमण कम भएको, जलवायु परिवर्तनको असर पनि कम पर्ने, बजार समेत बढेको कारण उन्नत जात भनिएका धानहरुको सट्टा ‘गुणे’ धानको खेती बढेको दुल्लू नगरपालिका–१३ मालिकाका अगुवा किसान बिष्णुबहादुर शाहीले बताउनुभयो ।
यातायातको सहज भएको र नेपाली भाषाको देशकै सबै भन्दा पुरानो दुल्लूमा रहेको शिलालेख ‘कितिखम्ब’, पेट्रोलियम पदार्थ उत्खनन्को काम भइरहेको हेने आउने आन्तरिक पर्यटक संख्या बढेपछि गुणेको बजार अझ बढेको व्यवसायीहरुको भनाई छ ।

‘गुणे’काे भात, लोकल कुखुरकाको मासु, ताजा तरकारीले पनि आन्तरिक पर्यटकहरुलाई आकर्षण गरेको दैलेख सदरमुकामको पञ्चकोशी होटलकी व्यवस्थापक गोमा न्यौपानेको अनुभव छ । उहाँले भन्नुभयो ‘हामी कहाँ आउनेहरु सबैजसोले ‘गुणे’को भात खान खोज्ने भएकोले १२–१५ क्वीण्टल धान ल्याउछौं अनि आवश्यकता अनुसार आफैले कुटान गर्छौं ।’

‘गुणे’लाई सिंचाईंको राम्रो प्रवन्ध हुनुपर्ने, रोपाइँमा बढी खेताला लाग्ने, गोडमेलमा ध्यान दिनुपर्ने लगायतका कारणले लागत खर्च बढे पनि बजारमा माग बढेकोले किसानहरुमा गुणे धानको खेतीमा आकर्षण बढेको हो । ‘गुणे’को भात पकाउँदा छिमेकीमा समेत सुगन्ध फैलिने, स्वास्थ्यलाई पाेषिलाे र रोग प्रतिरोधात्मक मानिन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २९ गते बिहीबार