२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

मैंले जोगाउन नसकेको दुर्घटना



२६ वर्ष अघिकाे कुरा हाे, २०५६ मा प्रतितिनिसभा निर्वाचनको तयारी भइरहेको थियो । बैशाख २० र जेठ ४ गते गरी २ चरणमा निर्वाचन गर्ने निधो भएको थियो । दैलेखका दुवै निर्वाचन क्षेतमा पहिलो चरणमा बैशाख २० गते मतदानको गर्ने कार्यक्रम परेको थियो । निर्वाचनको प्रचार गतिविधि तीब्ररुपमा बढिरहेका थिए, राष्ट्रिय समाचार समितिको जिल्ला समाचारदाताहरुका लागि वैखाख ८ गतेदेखि काठमाण्डौँमा तय गरिएको निर्वाचन पर्यवेक्षण तालिममा सहभागी हुन वैशाख ६ गते विहान काठमाण्डौँका लागि प्रस्थान गरेँ । दैलेखबाट सोझै काठमाण्डौँका लागि बस थिएनन्, उति बेला सुर्खेत पुगेर त्यहाँबाट काठमाण्डौँको लागि बस पाउथ्यो । त्यसैले विहान ६ बजेको पहिलो बसमा सुर्खेतसम्मको लागि यात्रामा थिएँ ।

भे १ ख ५७९ नम्वरको बसमा आफूले लिएको सीट एक बृद्धलाई बसाएर क्याविनमा साँघुरोमागुरो गरेर बसेँ, सदरमुकामबाट जाँदै गर्दा २ किलोमीटर टाढा झुप्रेसालको जङ्गल काटिसकेपछि बासकोटको बरपिपलको रुख नजिकबाट झण्डै खसेको थियो । उसै त लापरवाह तरिकाले गाडी चलाउने नामले चिनिएको चालक ‘शेरे’ आफ्नो मामाको गाडी पाए किन नमात्तिउन ? त्यति बेला कच्ची सडक, ठाउँठाउँ हिलो र खाल्डाखुल्डी ढल्पल्ढल्पल् गर्दैै डेढ घण्टामा करिब साढे ७ बजे मात्र चुप्राबजारमा गाडी पुग्यो । त्यो गाडी ठीक ८ बजे मात्र छुट्ने भएकोले चुप्राबजार बसपार्कमा चालक ओर्लिए, यात्रु पनि झरेर चियाखाना खाए ।

८ बजे हिंड्नुपर्ने गाडी साढे ८ बज्दा पनि तर चालक आई पुगेनन् । उनी अलि टाढा गएका रहेछन्, गाडी मालिकले खोजेर ल्याए । खोल्साएको लसुन क्वाप्प मुखमा पार्दै चालक पनि चढे बसमा । बोनटमा भएकोले उनको सबै गतिविधि नजिकबाट नियालिरहेको थिएँ । मैंले सोधें ‘गुरुले लसुन खान पनि भ्याउन भएन क्या हो ?’ उनले भने ‘२ गिलास लगाएको सितन केही थिएन, लसुन खाएको नि ।’ उनले गाडी स्टार्ट गरे, २० मीटर अगाडि मोड आयो तर उनले स्टेरिङ मोडेनन् । तराईमा राम्रो साइकल चलाउनेले ह्याण्डिलमा हात नलगाई पाइडिलबाट साइकल मोडे जस्तै बस पनि मोडिदो रैछ कि क्या हो भन्ठानेर चालकले स्टेरिङमा हात लगाई खुट्टैले मोड्दो रैछ कि ? भनेर उनको खुट्टातिर ध्यानपू्र्वक हेर्दै थिएँ गाडीको अघिल्लो पाङ्ग्रा सडकबाट बाहिर गइसक्यो तब चालक केही प्रयास गरे तर पल्टिन लागिसक्यो ।

ती चालकको लापरबाहीले गाडी उनको नियन्त्रण बाहिर गइसकेको थियो । सुरुमा बिस्तारै धस्सिदै गाडी गहुँबारीमा पल्टियो, त्यहाँ रोकिएन । एकपछि अर्को गर्दै तीन बल्ड्याङ् खाएर तल खोल्सा नजिकै खीरोको रुखमा अड्किएछ । गाडी अड्कियाे तर बाहिर निक्सने ढोका चाहिं उत्तानो परेको कारण गाडी भित्रका यात्रुहरु क्याबिनको ढोका हुदै सिसा फुटिसकेको गाडीको अघिल्लो भागबाट यात्रुहरु वाहिर निस्कन थाले । युवाहरु अलि छिटो छरितो गरी निस्किए । बालबालिका, बृद्धबृद्धाहरुलाई यात्रु र स्थानीयले उद्धार गरे । बस रोकिएको मौकामा म पनि छिटो छरितो गरी बाहिर निस्केँ अनि उद्धार हुदै गरेको र यात्रुहरु वाहिर निस्कँदै गरेको फोटो खिच्न थालें ।

आफू समेत दुर्घटनामा परेको  बेला म आफैले खिचेको दुर्घटनाग्रस्त बसको फोटो

सदरमुकामबाट ल्याएका र त्यहाँ थपेका १०–१२ समेत झण्डै ५२ जना यात्रु लिएको बस चुप्राबजारबाट स्टार्न गरी ५० मीटर मात्र पार गर्दा त्यो दुर्घटना भएको थियो । त्यो बसमा हालको दुल्लू नगरपालिका–१० साविकको गमौडी गाविस–८ राजाकाँधकी ४३ वर्षीया महिला पद्मा योगीको गाडीले च्यापिएर ज्यान गयो । ती महिला बर्दियामा आमाको पिपलपानी हाल्न जानकाे निम्ति  चुप्राबाट चढेकी रैछिन् । धीखोजी हुँदा थाहा भयो, गाडीमा चढेर २० मीटर यात्रामा उनकाे देहावसान भयाे । गाडीका यात्रु चोट नलाग्ने कोही भएनन् गाडी मालिक समेत ५ जना त जीवनभरकै लागि अपाङ्ग भए ।

त्यो दुर्घटनामा सायद सबैभन्दा कम चोट मलाई लाग्यो । मलाई कम चोट लाग्नु संयोग थियो, त्यो कसरी ? भने गाडी स्टाफले बास बस्ने ठाउमा वा कहिले गाडीमा सुत्न चाहिन्छ भनेर क्याविनको माथि राखेको सिरक गाडी पल्टिंदा बित्तिकै मेरो टाउकोमा खस्यो मैंले टाउकोबाट तल खस्न नदिएर समाइराखें । जबसम्म गाडी पल्टिन छाडेन तबसम्म समाई रहेँ, त्यसैले मलाई सबै भन्दा कम चोट लाग्यो । मेरो टाउकोमा सिरक खस्ना साथ मैंले सोचेको थिएँ, ‘सबै भन्दा कम चोट मलाई नै लाग्छ । हात खुट्टा भाँचिएला तर बाँच्छु’ भन्ने लागेको थियो, भयो पनि त्यस्तै । कम चोट लागेको भए पनि मेरो कान थोरै काटिएको, छातिमा सामान्य चो बाहेक खास ठूलो चोट लागेन ।

५२ जना यात्रु बोके बसमा आफै बस्न कोचाकोच थियो, सामान अलग्गै राखिएको थियो । अरु सामानहरु अर्थात साथमा भएको दुई वटा झोला डिग्गीमा राखेको थिएँ, त्यसबेला मैंले भिर्ने याशिका एमएफ-२ क्यामेरा छड्के हालेर भिरेको कारण दुर्घटनास्थलबाट झटपट उठेर आउँदा क्यामेरा मसंगै थियो अनि पो वाहिर आई पुग्दा नै फोटोहरु खिच्न पाएँ । कम चोट लागेको भन्नेमा त थिएँ, फोटो खिच्दै थिएँ तर मेरो देब्रे कानमा काटिएकै रैछ अनि रगत पनि बगिरहेको रहेछ । सेतो कमिजमा रगत बगेको देखेर त्यसबेला जिविसमा कार्यरत अहिले डुंगेश्वर गाउँपालिकामा कार्यरत सब इञ्जिनियर देबी न्यौपानेले दर्गुदै आएर मेरो हातको क्यामेरा खोसेर भनिन् ‘फोटो पछि खिचे भइहाल्छ, पहिले त उपचार गर्नु नि ।’ ४-५ वटा फोटो खिचिसकेको थिएँ । रगत बगिरहेको देखेपछि मन अलि कमजोर भयो, गहिरो चोट रहेनछ । सामान्य उपचार गरेर आफ्नो गन्तव्यतिर लागें, त्याे दिन सुर्खेतमा राेकिएँ भोलिपल्ट सुर्खेतबाट रात्री बसमा पर्सि पल्ट काठमाण्डौं पुगें ।

त्यतिबेला कान्तिपुर र रासस दुबैमा समाचार लेख्थें । दुर्घटनामा परेको समाचारदाताले समाचार पठाएको अनि समाचार छापिएको कुरा लामै समयसम्म चर्चाको विषय बन्यो । समाचारदाता आफै दुर्घटनामा परेको सन्दर्भ जोडिंदा सहानुभूती र सद्भाव त पाएँ तर मलाई अहिले पनि त्यो दुर्घटना जोगाउन नसकेकोमा पश्चाताप लागिरहन्छ । सधैंजसो यो दुर्घटना स्मरणमा आइदिन्छ । ‘साइकल मोडे जस्तो हुन्न गाडी मोड्न स्टेरिङ घुमाउनै पर्छ’ भन्ने त्यसबेला मलाई त्यो ज्ञान भएको भए, चालकलाई तुरुन्त सचेत गराएर मोड काट्न लगाउथें होला – सायद त्यो दुर्घटना हुने नै थिएन । 

प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार