२०८३ साउन २७ , बुधबार (2026 Aug 12, Wednesday)

डेकेन्द्रको २२ औं स्मृति दिवस 



दैलेख – पत्रकार तथा मानवअधिकारकर्मी स्वर्गीय डेकेन्द्रराज थापाको हत्या भएको २२ वर्ष पुगेको छ । तत्कालीन सशस्त्र द्वन्द्वका समयमा अपहरणपछि हत्या गरिएकाे समयमा थापाको उमेर ३३ वर्ष थियाे ।  न्यायका लागि लामो कानुनी संघर्ष गरे पनि हत्यामा संलग्नताकाे पुष्टि भई जन्मकैद ताेकिएका मुख्य कसूरदार अझैं पक्राउ नपरेमा परिवार, पत्रकार तथा मानवअधिकारकर्मीले आपत्ति जनाएका छन् ।

थापालाई २०६१ साल असार १२ गते अपहरण गरिएको थियो । त्यसको करिब डेढ महिनापछि साउन २७ गते उहाँको हत्या भएको थियो । साउन ३२ गते तत्कालीन विद्रोही पक्षबाट जारी विज्ञप्तिमार्फत हत्याको पुष्टि भएपछि परिवार र अधिकारकर्मीले शव खोजी तथा न्यायको माग गर्दै निरन्तर दबाब दिएका थिए । ‘कि लास देऊ कि सास देऊ’ अभियानसहित विभिन्न चरणमा खोजी तथा दबाबका कार्यक्रम सञ्चालन भएका थिए ।

थापा २०२८ साल माघ २० गते जन्मिनुभएको थियो । उहाँले २०५२ सालदेखि रेडियो नेपालको दैलेख जिल्ला संवाददाताका रूपमा पत्रकारिता सुरु गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ दैलेखको जिल्ला सदस्य, मानव अधिकार तथा शान्ति समाजको सहसचिव, मानव संसाधन केन्द्रको अध्यक्ष तथा दैलेखबजार खानेपानी उपभोक्ता समितिको अध्यक्ष भएरसमेत उहाँले सामाजिक क्षेत्रमा योगदान पुर्‍याउनुभएको थियो । उहाँ देउडा गायन र कार्यक्रम उद्घोषणमा समेत सक्रिय हुनुहुन्थ्यो ।

२०६५ साल साउन १६ गते विशेषज्ञ टोलीले भेटिएको कंकालको परीक्षण गरेपछि थापाको शव भएको पुष्टि भएको थियो । सोही दिन धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको थियो । त्यसपछि २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी परेको थियो भने २०६९ साल माघ ८ गते प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जिल्ला अदालत दैलेखमा अभियोग दर्ता भएपछि २०७१ मंसिर २१ गते पहिलो फैसला भएको थियो ।

पहिलो फैसलामा पक्राउ परेका पाँच जनामध्ये निरकबहादुर घर्ती, हरिनाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष, लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्ष कैद सजाय सुनाइएको थियो । त्यसपछि बमबहादुर खड्का ‘अरुण’ पक्राउ परेपछि मुद्दा पुनः अघि बढेको थियो । २०७८ मंसिर २६ गते भएको अन्तिम फैसलामा खड्कालगायतलाई कैद सजाय सुनाइएको थियो ।

पत्रकार थापाको हत्या प्रकरणले नेपालको पत्रकारिता, मानवअधिकार र संक्रमणकालीन न्यायको क्षेत्रमा महत्वपूर्ण स्थान राखेको छ । उहाँको न्यायका लागि गरिएको संघर्षबारे भिडियो डकुमेन्ट्रीसमेत निर्माण भएको छ । थापाको योगदान र साहसलाई सम्मान गर्दै अमेरिकामा साहसिक १०० पत्रकारको सूचीमा उहाँको स्मरण तथा शालिक राखिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार