२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)
इतिहासमा साउन १७

भीमदत्तकाे शिर काटिएको दिन



शहीद भीमदत्त पन्त

‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्त किसान विद्राेह गर्नुभएकाे भीमदत्त पन्त विक्रम सम्वत १९८३ मंसिर १० गते डडेल्धुराको अमरगढी नगरपालिका-२ कारीगाउँमा जन्मनुभएकाे थियो । २००७ मा प्रजातन्त्र आएपछि पनि सामन्तवाद नसकिएको भनी किसान विद्रोह चलाएको नाममा बुडरको गल्लेकमा ७२ वर्षअघि २०१० साउन १७ गते शिर काटिएको थियो ।

तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको सरकारले ‘भीमदत्तलाई पक्रेर जिउदै ल्याउने वा काटेर टाउको ल्याउने व्यक्तिलाई नगद ५ हजार दिइने छ’ भनी घोषणा गरेपछि भीमदत्तका मीत लालबहादुर थापा र तप्तबहादुर थापाले गोली हानी हत्या गरेका थिए । हत्याको लगतै भीमदत्तको टाउको छिनालेर रातारात डडेल्धुरा पुगेर बडाहाकिम मोहनबहादुर सिंहलाई बुझाएका थिए ।

बडाहाकिम सिंहले भीमदत्तको टाउको साउन १८ गते डडेल्धुरा गोश्वारा अगाडिको भैरवस्थानमा बाँसको लिंगोमा झुन्डाएर प्रदर्शन गरे । टाउको मुनि ‘देशद्रोह र राजद्रोह गर्नेलाई यस्तै हुन्छ’ भनेर लेखिएको थियो । भीमदत्तकी पत्नी पार्वतीदेवीले अन्त्येष्टिका लागि आफ्ना पतिको टाउको माग्दा बडाहाकिम सिंहले ३१ वटा सर्तहरूमा सहीछाप गराएर टाउको दिएको देख्नेहरु अहिले पनि जीवित छन् ।

डडेल्धुरा गोश्वारा अगाडि बाँसको लिंगोमा झुन्डाएको टाउको हेर्न हजार जना जति जम्मा भएका थिए । अत्येष्टि गर्ने सहमति पाइसकेपछि सदगदमा धर्मदेव पन्त, सिद्धराज पन्त, शिवराज उप्रेती, सोवे सार्की र फकिरे दमाई पाँच जनाले घटालथान नजिक हिन्दू परम्परा अनुसार दाहसंस्कार गरेका थिए ।

सानैमा आमा गुमाएका भीमदत्तले भारतको सिगाहीमा पुगेर म्याट्रिक पास गरेका थिए । म्याट्रिक पास गरेर घर फर्किंदा भीमदत्तका बुबाको मृत्यु भएको थियो । पन्तको विवाह ११ वर्षको उमेरमा ईश्वरी भनिने पार्वतीदेवीसँग भएको थियो । पार्वतीदेवीबाट भीमदत्तका दुई छोरा र एक छोरी जन्मेका सबै २-४ वर्षकै उमेर मरेका थिए ।

२००७ सालको क्रान्तिमा भीमदत्त
२००६ सालमा नेपाली काँग्रेसको सदस्यता लिनुभएका भीमदत्तले २००८ सालमा नेपाल प्रजापरिषद्मा प्रवेश गर्नुभएको थियो । २००७ असोजमा नेपाली कांग्रेसले बैरगनिया सम्मेलनमा राणाशासनविरुद्ध ‘सशस्त्र क्रान्ति’को घोषणा गरेको थियो । कांग्रेसले मातृकाप्रसाद कोइरालालाई सुप्रिम कमान्डर घोषणा गरी ‘मुक्तिसेना’ नामक सशस्त्र दस्ता गठन गरेको थियो । शासन सत्ता कब्जाका लागि कांग्रेसले तेह्रवटा मोर्चामा नेताहरूलाई खटाएको थियो ।

कैलाली–कञ्चनपुर मोर्चाको जिम्मेवारी राजेश्वरीप्रसाद उपाध्यायलाई दिइएको थियो । पार्टीको योजनाअनुसार चन्द्रवीर सिंह (सिबी सिंह) नेतृत्वको मुक्तिसेनाको टोली गौरीफन्टा पुगेको थियो । सिबी सिंह, गौरीलाल कुँवर र रूपसिंह सिजापति सम्मिलित मुक्तिसेनाको टोलीले २००७ मंसिर १२ गते कैलालीको कनरीचौकी र मंसिर २६ गते धनगढी कब्जा गरेको थियो ।

धनगढी कब्जापछि मुक्ति सेनाले बडाहाकिम मइकरदेवनारायण सिंह थारूको हत्या गरेको थियो । मुक्तिसेनाले पुस ८ गते कञ्चनपुरको बेलौरी नियन्त्रणमा लिएको थियो । बेलौरीपछि मुक्तिसेनाले ब्रह्मदेवमण्डी कब्जा गरेको थियो । ब्रह्मदेवमण्डीबाट डोटी–डडेल्धुरा र बैतडी कब्जाका लागि अघि बढेको रूपसिंह, शेखर शर्मा र गौरीलालको टोलीमा भीमदत्त सम्मिलित हुनुभएको थियो ।

भीमदत्तले नेतृत्व गरेको मुक्ति सेनाले २००७ पुस २६ गते डडेल्धुरा कब्जा गरेको थियो । सोहीबीच स्थानीय सेठहरूले मोहनसिंह खडायतको घर लुटेको झुटो आरोप लगाई भीमदत्तविरुद्ध कमान्डर रूपसिंहकहाँ उजुरी गरे । सेठहरूको षड्यन्त्रप्रति अनविज्ञ रूपसिंह भीमदत्तलाई भौतिक कारबाही गर्ने निर्णयमा पुगे ।

त्यहीवेला एकजना दमाईले मृत्युदण्ड दिनुअघि बिगुल बजाउनुपर्ने परम्परा रहेको र त्यो प्रचलन आफूले थामेको बताएपछि रूपसिंहले उनलाई बिगुल बजाउन भने । त्यसपछि स्थानीय बृजलाल जोशीले भीमदत्त बाहुन भएका कारण उनलाई मृत्युदण्ड दिन नहुने बताए । अन्ततः भीमदत्त निर्दोष देखिएपछि रूपसिंहले उनीमाथिको कारबाही फिर्ता लिए ।

उक्त घटनापछि मुक्तिसेनाको टोली डोटीतिर लाग्यो । भीमदत्त पनि टोलीमा थिए । मुक्तिसेनाले २००७ माघ २ गते डोटी कब्जा गरी शिवराज पन्तलाई गभर्नर घोषणा ग¥यो । डोटीपछि मुक्तिसेनाले माघ २३ गते बैतडी कब्जा ग¥यो । त्यसपछि भीमदत्तलाई मुक्ति सेनाले डडेल्धुराको गभर्नर बनायो ।

सोहीबीच २००७ फागुनमा राजा, राणा र कांग्रेसबीच दिल्लीमा सम्झौता भई नेपाली कांग्रेसले सशस्त्र क्रान्ति स्थगनको घोषणा ग¥यो, तर भीमदत्तले दिल्ली सम्झौताको विरोध गर्दै आफ्नो गतिविधि जारी राख्नुभयो । सरकारले गतिविधि रोक्न दिएको निर्देशन भीमदत्तले अवज्ञा गर्नुभयो । अन्तत २००८ भदौ–असोजमा मेजर सिद्धिगणेश मानन्धरको नेतृत्वको सुरक्षा फौज डडेल्धुरा पुगी भीमदत्तलाई नियन्त्रणमा लियो । त्यहाँबाट डोटी, धनगढी हुँदै भीमदत्तलाई काठमाडौं जेल चलान गरियो । निर्दाेष पाइएपछि भीमदत्त थुनामुक्त हुनुभयो ।

मक्ति आन्दोलन
२००९ पुसमा काठमाडौं, हनुमानढोका कारागारबाट जेलमुक्त भएपछि भीमदत्त डडेल्धुरा फर्किनुभयो  । त्यतिवेला पूर्वी तराईमा चलेको किसान आन्दोलनबाट प्रभावित भीमदत्तले पछि आफ्नो विद्रोहको मुख्य एजेन्डा किसान मुक्तिलाई बनाउनुभयो  । कञ्चनपुरको ब्रह्मदेवमा भन्सारका कर्मचारीहरूले कालोबजारी गर्न नुनको कृत्रिम अभाव सिर्जना गरेको खबर भीमदत्तले पाउनुभयो  ।

भीमदत्त ब्रह्मदेव पुगेर भन्सार नियन्त्रणमा लिई जनतालाई नुन बाँड्नुभयो । त्यही विषयमा कैलालीका बडाहाकिम धैर्यशमशेर भीमदत्तलाई पक्रने योजनामा थिए । २००९ चैतमा ब्रह्मदेवमा रहेका भीमदत्त र कृष्णस्वामी आयंगरलाई राति सुतिरहेका वेला पक्राउ गरी अयंगरलाई भारत समक्ष सुपुर्दगी गरी भीमदत्तलाई बेलौरी जेल चलान गरियो ।

२०१० असार १० गते भीमदत्त बेलौरी जेल ब्रेक गरी भाग्नुभयो । त्यसपछि उहाँले नरबहादुर बोहरा, गर्भु राना र मुल्ली प्रधानलाई भेटी सशस्त्र क्रान्तिको योजना बनाउनुभयो । मुल्ली, गर्भु र अरु थप युवाहरु समेत भरुवा बन्दुक सहित डडेल्धुरातिर लागे ।

जेलब्रेकपछि स्थानीय प्रशासनले भीमदत्तका नाममा वारेन्ट जारी ग¥यो । भीमदत्त डडेल्धुरा गौँडामा हाजिर हुनुभएपछि बेलौरी जेलचलान गरियो, बेलौरी लैजाने क्रममा जोगबुढा पु¥याइएका भीमदत्त सुरक्षाकर्मीलाई प्रभावमा पारी भाग्न सफल हुनुभयो ।

त्यसपछि भीमदत्त सशस्त्र आन्दोलनको योजना बनाउनुभयो । उहाँले आलिताल, गांगखेत लगायतका गाउँमा रहेका भूपू भारतीय सैनिक संगठित गरी युवाहरूलाई तालिम दिई बुडरमा व्यापारी परमानन्द पन्तलाई कारबाही गरेपछि भीमदत्त दलबलसहित ब्रह्मदेव पुग्नुभयो ।

ब्रह्मदेवमा भीमदत्तको अगुवाईमा भन्सारका सुब्बा जयदेव, डिट्ठा धर्मसिंह रावल र सुबेदार जोगराज ऐरलाई बाँधेर महाकालीमा बगाइयो । ब्रह्मदेव भन्सार कब्जापछि भीमदत्त र लडाकुहरूको टोली कञ्चनपुरको सुडा हुँदै बेलौरी कब्जाका लागि अघि बढ्यो । अघि बढ्दै गर्दा भुर्सा भन्ने गाउँमा एकजना हवल्दार र थानेदारहरूले स्थानीयलाई दुःख दिइरहेको खबर भीमदत्तले पाउनुभयो ।

भीमदत्तका लडाकुहरूको कारबाहीमा हवल्दार र थानेदार दुवैको मृत्यु भयो । २०१० असार २४ गते भीमदत्तको सशस्त्र दस्ताले बेलौरीमा रहेका मालअड्डा, प्रहरी थाना, बैंक र गोश्वारा कब्जा ग¥यो ।

किसान विद्राेह दमन गर्न भारतीय सेना
भीमदत्तको विद्रोहबाट त्रसित प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सैन्य सहयोगका लागि २०१० साउन ४ गते दिल्ली पुगे । कोइरालाकै अनुरोधमा भारतीय सेना भीमदत्तको विद्रोह दमन गर्न नेपाल प्रवेश ग¥यो । भारतीय सेनासँग संयोजनका लागि प्रधानसेनापति किरणशमशेर बरेलीमा बसेका थिए । साउने झरीका कारण भीमदत्त लडाकुहरूसँगै कैलालीको बडेहा गाउँमा रोकिनुभयो । त्यहाँ लडाकुहरू खाना खाइरहेका वेला गाउँ नजिकैको जंगलमा भारतीय फौज आइपुगेको खबर भीमदत्तले पाउनुभयो ।

भारतीय सेनाको प्रतिकारका लागि लडाकुलाई तयार रहन निर्देशन दिए । गाउँबाट बाहिरिएको भीमदत्तका लडाकुको टोली र भारतीय सेनाबीच ५–६ घण्टा भीषण लडाइँ भयो । अत्याधुनिक हतियारले सम्पन्न भारतीय सेना भीमदत्तका लडाकुहरूलाई तीन तिरबाट घेरा हाल्दै अघि बढ्यो ।

भीमदत्तको लडाकु टोली भरुवा बन्दुकका भरमा लडिरहेको थियो । क्षति हुने देखेपछि भीमदत्तले उत्तरतिरबाट भाग्न सबैलाई निर्देशन दिनुभयो तर सबैजना भाग्न सकेनन् । भीमदत्तसहित केही सहयोगी मात्रै उम्किन सफल हुनुभयो । भिडन्तका क्रममा २ जना भारतीय सेना र २ जना भीमदत्तका लडाकुको मृत्यू भयो । भीमदत्तका ५२ जना लडाकु घाइते भए । २ सय ७२ जनालाई भारतीय सेनाले पक्राउ परे । त्यसबेला पक्राउ परेकाहरु प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा आममाफी पाएर छुटे ।

मीतबाट भीमदत्तको हत्या
भारतीय सेनासँगको बेहडामा भएको भिडन्तपछि भीमदत्त खिन्वा कार्की, बहादुर खत्री, वीरबहादुर खडायत र मोहनसिंह सेठीसँगै बुडर पुगेका थिए । बुडरमा दुई–तीन दिन भूमिगत रूपमा बसेका भीमदत्त त्यहाँबाट गल्लेक सरे । गल्लेकबाट भीमदत्तले बहादुर खत्री र खिन्वा कार्कीलाई घर पठाए । केही समयपछि उनले मोहनसिंह सेठीलाई डडेल्धुरा पठाए तर सेठी पक्राउ परे ।

उता सरकारले भीमदत्तलाई जिउँदो वा मृत ल्याउनेलाई ५ हजार पुरस्कार दिने घोषणा गर्‍यो । सुरक्षाकर्मीको चरम यातनापछि उनले भीमदत्त बुडरमा रहेको बताएपछि भीमदत्तका आफ्नै मीत लालबहादुर थापा, कर्णसिंह देउवा, तप्तबहादुर र भिम्वा दियालको टोली भीमदत्तलाई खोज्दै बुडर पुग्यो । त्यो पुरस्कार लिने लोभमा उनीहरु भीमदत्तलाई खोज्न हिंडेका थिए ।

बुडरमा पुगेर लालबहादुरले आफू भीमदत्तको मीत भएको र उनलाई बचाउन आएको भन्दै जनतालाई झुक्याएर २०१० साउन १७ गते खाना खाइरहेका भीमदत्त देख्ने बित्तिकै लालबहादुरले पहिलो गोली चलाएको बताइन्छ । गोलीबाट घाइते भीमदत्तले शोषक सामन्त मूर्दाबाद भनी नाराबाजी लगाउनुभएको लगतै तप्तबहादुरले हानेको दोस्रो गोलीले भीमदत्तको ज्यान गयो ।

हत्यापछि भिम्वा दियालले पन्तको शरीरबाट टाउको छिनालेको र शरीर बुडर छोडेर भीमदत्तको टाउको मात्र लिएर लालबहादुरको टोली भीमदत्तको टाउको बोकेर रातारात डडेल्धुरा पुगेको थियो । त्यसअघि गरिब–किसानका पक्षमा आवाज उठाएका अछामका बलदेव शाही ‘बाँकावीर’को टाउको काटेर काठमाण्डौं पु¥याइएको थियो । यो विषयमा इतिहासकार बाबुराम आचार्यले ‘अब यस्तो कहिल्यै नहोस्’ भन्ने किताव नै लेख्नुभएको छ ।

राणाकाल पहिलो प्रधानमन्त्री जंगबहादुर राणाको सैन्य टोलीले गरेको लुटपात, युवतीहरुको बलात्कार जस्ता अत्याचार रोक्न तत्कालिन अछामी राजा रणभीम शाहीको तर्फबाट जंगबहादुरलाई पत्र लेखेको, अछामको सेनालाई सुझाव दिएको विषयलाई लिएर सेनाले मार्न खोजेको तर नसकेपछि अछामकै युवाहरु लगाएर १९०६ सालको साउन (गते थाहा नभएको)मा ‘बाँकावीर’को टाउको काटेर काठमाण्डौं पु¥याइएको थियो ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार