२०८३ असोज ११ , आइतबार (2026 Sep 28, Monday)

मनसुन कमजोर हुँदै, मौसममा सुधारकाे सम्भावना



पछिल्ला केही दिनदेखिको लगातार वर्षा आजदेखि क्रमशः कमजोर हुँदै गएको छ । आज राति केही ठाउँमा वर्षा भए पनि सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउने देखिएको छ । तराईमा वर्षा निकै कम हुने र पहाडका थोरै ठाउँमा हल्का वर्षा हुनसक्नेछ ।

औसत मौसमी तथ्याङ्कअनुसार यस वर्षको मनसुन अवधि अब करिब ६ दिन मात्र बाँकी रहेको छ । यद्यपि मनसुन नेपालबाट बाहिरिने समय हरेक वर्ष केही दिन तलमाथि हुने भएकाले वास्तविक अवधि मौसमको अवस्थाअनुसार फरक पर्न सक्छ ।

हाल सक्रिय मौसमी प्रणाली कमजोर हुँदै गएकाले मनसुनको प्रभाव पनि घट्दै जानेछ । आगामी साता मध्य र अन्त्यतिर समेत ठूलो वर्षा गराउने अर्को उल्लेखनीय मौसमी प्रणाली विकास हुने संकेत नरहेको मौसम पूर्वानुमानले देखाएको छ ।

मनसुनको अन्त्यतिर देखिने मौसमी परिवर्तनलाई जलवायु परिवर्तनसँग जोडेर पनि अध्ययन गर्नुपर्ने देखिएको छ । पछिल्ला वर्षमा मनसुन सुरु हुने र अन्त्य हुने समय तथा वर्षाको तीव्रता र ढाँचामा असामान्य परिवर्तन देखिन थालेका छन् ।

मनसुनपछि पनि वर्षा र हिमपातको सम्भावना

मनसुन सकिएपछि पोस्ट–मनसुन अवधि सुरु हुनेछ । यस समयमा पश्चिमी वायुको प्रभाव बढ्दै जाने भएकाले विशेषगरी पश्चिमी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्छ । त्यसैले मनसुन सकिएपछि पनि मौसमको नियमित निगरानी आवश्यक हुन्छ ।

दशैँ, तिहारलगायत चाडपर्वमा ठूलो संख्यामा मानिस यात्रा गर्ने भएकाले मौसममा सुधार हुँदैमा पूर्ण रूपमा जोखिममुक्त भएको बुझ्न नहुने देखिएको छ । यात्राअघि सम्बन्धित क्षेत्रको मौसम र सडक अवस्थाबारे जानकारी लिन आवश्यक छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गर्ने अद्यावधिक मौसम सूचना हेरेर मात्र लामो दूरीको यात्रा गर्न सुझाव दिइएको छ । तत्काल ठूलो वर्षा गराउने प्रणालीको सम्भावना कम देखिए पनि मौसम अचानक परिवर्तन हुनसक्ने भएकाले पूर्वानुमान नियमित हेर्नुपर्ने हुन्छ ।

 

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार