पाल्पा – चार दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका प्रहरीले जनाएकाे छ । फरक फरक ठाउँमा भएका घटनामा वेपत्ताहरुकाे खाेजी भइरहेकाे प्रहरीकाे भनाई छ ।
माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी तथा रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको र ठिमुरेमा घर पुरिएर बेपत्ता सारुको खोजी गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका इञ्चार्ज डीएसपी भीमलाल भट्टराईले जानकारी दिनुभयाे ।
माथागढी–१ चिदीपानीको जनेवाखोलामा पहिरोले रेलबहादुर दमाई र गोविन्दबहादुर सुनारीको गोठ पुरेको छ । घरसमेत जोखिममा परेको र पशुचौपाया पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । प्रभावित परिवारको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
माथागढी–३ कसेनी भैँसीकट्टामा आइतबार बिहान गएको पहिरोले लिलबहादुर घर्तीमगरको घर पूर्णरूपमा पुरेको छ । घरमा सुतिरहेका ७५ वर्षीय लिलबहादुर घर्ती, १५ वर्षीया झरना घर्ती र १७ वर्षीया दिना घर्ती बेपत्ता भएका छन् । निरन्तर भारी वर्षाकाे कारण खाेजीमा वाधा परेकाे प्रहरीकाे प्रतिक्रिया छ ।









प्रतिक्रिया दिनुहोस्